विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालका मौलिक पर्व र संस्कृतिहरूले सामाजिक एकता, आपसी सद्भाव र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। गुरुङ समुदायको महान् पर्व तमु ल्होसार तथा कुलुङ जातिको चाक्चापुर पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

​मुख्यमन्त्री कार्कीले तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने उल्लेख गरे। "हाम्रो विविधतायुक्त समाजमा यस्ता मौलिक पर्वहरूले आपसी सद्भाव र सहकार्य मजबुत बनाउँछन्, जसले अन्ततः प्रदेशको समृद्धिको यात्रामा सकारात्मक योगदान पुर्‍याउँछ," उनले जारी गरेको  शुभकामना सन्देशमा भनिएको छ।

​कोशी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्थापना कालदेखि नै सबै समुदायका पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे। यस्तै, कुलुङ समुदायको चाक्चापुर पर्वको सन्दर्भमा उहाँले सो समुदायको ऐतिहासिक योगदान र सांस्कृतिक धरोहरले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

​देश–विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी तथा नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले यस्ता सांस्कृतिक चाडपर्वहरूले हाम्रो राष्ट्रिय गौरवलाई अझ समृद्व बनाउने विश्वास समेत व्यक्त गरे ।