सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे ।

बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ ।

पुरी टोल भारतीय छोटी भन्सार लौकहीसँगै जोडिएको बस्ती हो । केही सय मिटर पार गर्दा भारतको बेलाह बजार पर्छ । खेती वा अन्य रोजगारी नहुँदा यो बस्तीका धेरैले रोजगारीका नाममा ‘भरिया’ बन्ने बाटो रोजेका छन् । उनीहरू सीमापारिबाट अरूको सामान बोकेर ल्याउँछन् । पाएको ज्यालामा जीविका चलाउँछन् ।

स्थानीयका अनुसार यो नाकाबाट राति ११ बजेपछि ‘लाइन’ खुल्ने गर्छ । त्यसपछि भरियाहरू भारतको बेलाह बजार पुग्छन् । चिनी, चकलेट, किराना सामान ल्याउँछन् । बिहानअघि नै व्यापारीलाई बुझाउँछन् । यही कामले पुरी टोलका धेरै श्रमिकको घरमा चुलो बलिरहेको छ । विजय पनि यही श्रेणीका श्रमिक थिए । ‘विजय गरिखाने मान्छे थिए, उनी व्यापारी होइन, भरिया मात्रै थिए,’ कोशी गाउँपालिका–१ का वडाध्यक्ष शोभितनारायण यादव भन्छन्, ‘परिवार पाल्न अरूको सामान वारपार गर्थे । अनाहकमा मारिनुपर्‍यो ।’

बुधबार राति करिब ११ बजे खाना खाएर विजय सिटी रिक्सामा बेलाह बजारतर्फ लागेका थिए । पहिलो चक्करमा सामान ल्याएर बुझाए । फेरि दोस्रो पटक बेलाहतर्फ हुइँकिए । फर्किने बेला ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोकेको परिवारको दाबी छ । ‘१२ बजेतिर उहाँले फोन गर्नुभयो,’ पत्नी गीताले रुँदै सम्झिइन्, ‘प्रहरीले पैसा मागिरहेको आवाज सुनिन्थ्यो । ५ सय मागिरहेको प्रस्टै बुझिन्थ्यो । गाडी साइड लगाउन भनिरहेको थियो ।’

अचानक फोनमा ‘ड्यांग’ गरेको आवाज आयो । ‘गोली चलेको आवाज थियो,’ गीता भन्छिन्, ‘त्यसपछि उहाँको आवाज आएन ।’ घटनास्थल विजयको घरबाट करिब ३ सय मिटर मात्रै टाढा थियो । फोन काटिएपछि गीता गाउँलेसहित विजयलाई खोज्न निस्किइन् । रिक्साको छेउमा विजय छातीमा गोली लागेको अवस्थामा थिए । उनीहरू पुग्दा विजयको मृत्यु भइसकेको थियो । त्यो क्षणले गीता मात्र होइन, पूरै बस्ती स्तब्ध भयो ।

प्र १–०२–००३ ३३१७ नम्बरको सिटी रिक्सामा ७ बोरा चिनी, २ कार्टुन चकलेट र अन्य सरसामान थिए । विजयले कसको सामान बोकेका थिए भन्ने खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भन्छन्, ‘सतही रूपमा हेर्दा विजय भरिया मात्रै भएको देखिन्छ । कसको सामान थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

तर स्थानीयको प्रश्न फरक छ, भरिया भए पनि ज्यान जानुपर्ने अपराध के थियो ? स्थानीयका अनुसार राति ११ देखि १ बजेसम्म यही नाकाबाट तस्करीको ‘लाइन’ खुल्ने गर्छ । त्यस अवधिमा भरियाहरूले इटहरी, इनरुवा आसपासका व्यापारीका सामान ओसारपसार गर्छन् । ‘हरेक चक्करमा ५ सय रुपैयाँ ड्युटीमा रहेका प्रहरीलाई बुझाउनुपर्छ,’ एक स्थानीय भन्छन्, ‘पैसा दिन आनाकानी भयो भने विवाद हुन्छ । यसअघि कुटपिट हुन्थ्यो, यो पटक गोली नै चल्यो ।’

विजयको मृत्युको खबर फैलिनासाथ लौकही बजार बिहीबार बिहानैदेखि तनावग्रस्त बन्यो । आक्रोशित स्थानीयले शव सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे । सशस्त्र प्रहरीको बिट र बीओपीमा तोडफोड तथा आगजनी भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

साह सामान लिएर भारतबाट फर्किइरहँदा बुधबार राति सवा १ बजेतिर कोशी गाउँपालिका–१ को भित्री सडकखण्डको पुरी टोलमा सशस्त्र प्रहरीसँग जम्काभेट भएको र लेनदेन विवाद भएको स्थानीयको दाबी छ । पहिले दिँदै आएको भन्दा बढी पैसा मागेपछि भएको विवाद बढ्दा सशस्त्रले चलाएको गोली साहको छातीमा लागेको स्थानीय रघुनन्दन यादव दाबी गर्छन् ।

sahamati

तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय इनरुवामा सर्वपक्षीय बैठक बस्यो । र, उक्त बैठकले पाँचबुँदे सहमति गरेको छ । सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि छन् । प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय तोकिएको छ । सहमतिकै आधारमा शव पोस्टमार्टमका लागि बुझाएर परिवारले दाहसंस्कार गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करीमा संलग्न अज्ञात समूहले पहिला गोली चलाएको दाबी गरे । ‘दुई अटो र एउटा सिटी रिक्सा रोकेका थियौं,’ डीआईजी न्यौपाने भन्छन्, ‘अटोबाट ओर्लिएर गोली चलाइयो । बाध्य भएर जवाफी कारबाही गर्दा विजयको मृत्यु भयो ।’ तर घटनास्थलबाट तस्कर पक्षको गोलीको खोका भेटिएको छैन । भेटिएका दुई वटा खोका सशस्त्र प्रहरीले चलाएको गोलीका हुन् भन्ने पुष्टि प्रशासनले गरेको छ । यही विरोधाभासले सशस्त्र प्रहरीको दाबीमाथि प्रश्न उठेको छ ।

मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीबीच जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएसँगै अवस्था सामान्य बनेको थियो ।

सहमतिपछि अवस्था सामान्य बने पनि स्थानीयहरूले सशस्त्र प्रहरीको भूमिकामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । स्थानीयको मागअनुसार सशस्त्रको भूमिकामाथि प्रशासनले छनबिन गर्ने प्रतिबद्धता जनाएको छ । लापरबाही ठहर भए क्षतिपूर्ति, मृतककी पत्नीलाई रोजगारीमा सहजीकरण र छोराले सशस्त्र प्रहरीमा भर्ना हुन चाहे सहयोग गर्ने सहमति पनि भएको छ । यो घटनाले सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीमाथि शुद्धीकरण हुनुपर्ने आवश्यकता औंल्याएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । प्रहरीले बल प्रयोग गर्ने सिद्धान्तविपरीत छातीमा गोली प्रहार भएको पाइएपछि गम्भीर अनुसन्धान हुने उनले जानकारी दिए ।

स्थानीयले दाबी गरेजस्तो ‘लेनदेन’ विवादका विषयमा पनि छानबिन हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले गोली चलाउने प्रहरीसहित त्यहाँ रहेको सशस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन आग्रह गरेको समेत जानकारी दिए । ‘घटनापछि सशस्त्र प्रहरीको युनिटलाई नै फिर्ता बोलाउन बराह वाहिनी पकलीका डीआईजी कुमार न्यौपानेलाई भनिसकेको छु,’ उनले भने ।