सुनसरी । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ परेका छन् । 


गोलीकाण्डको विषयमा छानबिनका लागि हिजो(विहिबार) नै समिति गठन गरेपछि उनलाई पक्राउ गरिएको हो ।  सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको  छानविन समिति बनाइएको छ । 


भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको थियो । गोली हान्ने हवल्दारलाई बिहिबार नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।


घटनापछि हिजो नै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट ( बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन आएपछि थप कदम चाल्ने बताएका छन् ।