विराटनगर । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ५५ जना बोकेर उडेको बुद्ध एयरको एछपआर ७२ (उडान नम्बर ९०१) जहाज शुक्रबार राति करिब ९:१० बजे अवतरणका क्रममा रनवेबाट बाहिर पुगेको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, काठमाडौंबाट राति ८:२३ बजे उडेको उक्त जहाज चन्द्रगढी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेको पूर्वतर्फ 'ओभर रन' भई करिब ३०० मिटर अगाडि पुगेर भासिएको छ। जहाज भासिएका कारण केही क्षतिग्रस्त भएको उनले जानकारी दिए।

​मानवीय क्षति नभएको पुष्टि

घटनालगत्तै एसपी राजन लिम्बूकै नेतृत्वमा ७० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। जहाजमा सवार सबै ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ, एसपी लिम्बूले भने । अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, सबै यात्रुहरू सुरक्षित छन् ।

​अहिले घटनास्थलमा सुरक्षाकर्मीहरूले उद्धार कार्यलाई पूर्णता दिँदै विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेका छन्। रातिको समय भएकाले थप प्राविधिक निरीक्षण र जहाजलाई हटाउने प्रक्रियाबारे छलफल भइरहेको छ। जहाज रनवेबाट निकै अगाडि पुगेर भासिएकोले विमानस्थलको उडान सेवा र प्राविधिक अवस्थाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।