सुनसरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट ईलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्णरुपमा ध्वस्त भएको थियो ।
कार्यालय ध्वस्त भएपछि विस्थापित बनेको प्रहरीको टोलीले झण्डै तीन महिना इटहरी–२० तरहराको चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गरेको थियो ।
इटहरी उपमहानगरपालिका तथा विभिन्न संघसंस्था तथा व्यक्तिको पहलमा गठन गरिएको ईलाका प्रहरी कार्यालय भवन पुनःस्थापना सहयोग समितिमार्फत भवन मर्मत तथा न्यूनतम पूर्वाधार निर्माण गरिएको हो । इटहरी रंगशाला परिसरको ज्येष्ठ नागरिक भवन र त्यहाँ उपलब्ध भएका अन्य संरचनालाई मर्मत तथा पुनर्निर्माण गरी बुधबार हस्तान्तरण गरिएको हो ।
उपभोक्ता समितिले कार्यालय प्रमुखको कार्यकक्ष, हिरासत कक्ष, आवश्यक गुणस्तरीय कोठा, प्रहरी ब्यारेक, भान्सा घर, शौचालय, खानेपानी तथा विद्युत् जडान, भण्डारण कक्ष, प्रतिक्षालय र मेलमिलाप केन्द्र लगायतका संरचना निर्माण तथा मर्मत गरिदिएको हो ।
भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ । पुन:स्थापना कार्यमा इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रुपैयाँ योगदान रहेको बताइएको छ ।
कठिन परिस्थितिमासमेत इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयको सहयोगले निर्माण कार्य सहज रूपमा सम्पन्न भएको भवन पुनर्निर्माण सहयोग समितिका संयोजक सन्तबहादुर डुम्जनले जानकारी दिए ।
कार्यक्रममा युवा व्यवसायी विनोद पौडेल संयोजकत्वको चारपांग्रे सवारी साधन सहयोग उपसमितिले प्रहरीका लागि एउटा बोलेरो गाडी समेत हस्तान्तरण गरेको छ ।

















