सुनसरी । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्बी तालिम शिक्षालयमा सञ्चालन भएको सि.सं ५१ औं एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा ५ सय ३१ क्याडेट दीक्षित भएका छन ।
पूर्वी तालिम शिक्षालय याङसीला मोरङमा बुधबार आयोजित दीक्षान्त कवाज समारोहमा २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई दिक्षित गरिएको हो ।
राष्ट्रिय सेवा दल पूर्बी शिक्षालयले कोसी, मधेस र बागमती प्रदेशका १८ विद्यालयका क्याडेटहरूलाई तालिम दिएकोमा बुधबार एक समारोहको आयोजना गर्दै उनीहरूको तालिम सफलता पूर्वक सम्पन्न भएको घोषणा गर्दै उत्कृष्ट गर्नेहरूलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरिएको हो । तालिममा प्रत्येक बिद्यालयबाट २९ देखी ३० जनाको दरले क्याडेट सहभागी भएका थिए । जसमा आधा छात्र र आधा छात्रा रहेका थिए ।
तीन सातासम्म दिइएको उक्त तालिममा जगन्नाथ डेडराज जनता माबिका क्याडेट नबिन बिक छात्र तर्फ सर्वोत्कृष्ट भएका छन । झापाको इष्ट होराइजन अंग्रेजी माबिकी क्याडेट बिनिशा बस्नेत छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन ।
सहभागी १८ बिद्यालयमध्ये इष्ट होराइजन अंग्रेजी माबि सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ । दीक्षान्त समारोह लगायत कवाजको सलामी ग्रहण नेपाली सेनाको शैनिक इन्टीलिजेन्ट महानिर्देशनालयका महानिर्देशक उपरथी नकुल बहादुर रायमाझीले गरेका थिए ।
सलामी ग्रहण पश्चात् दीक्षान्त कार्यक्रममा बोल्दै उपरथी रायमाझीले तालिममा हासिल गरेको सीपलाई ब्यवहारमा लागुगर्दै राष्ट्रिय एकताको भावना लिई काम गर्न क्याडेटहरुलाई निर्देशित गरे । कार्यक्रममा दिक्षित क्याडेटहरुले ब्याण्ड डिसप्ले, खुकुरी डिल, तेक्वान्दो पीटी, नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्बी शिक्षालयले पहिलो र दोस्रो चरणको तालिम सम्पन्न गरिसकेको छ ।
बुधबार तेस्रो तथा अन्तिम चरणको तालिम सम्पन्न गरेसंगै अब सिं सं. ५२ औं तालिम आगामी आर्थिक बर्षमा सञ्चालन हुनेछ । नेपाली सेनाले बिं सं २०२२ सालदेखी युवाहरुको ब्यक्तित्व बिकास गर्ने उदेश्वले देसभरका विभिन्न सरकारी तथा निजि विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम संचालन गर्दै आएको छ ।
यस अन्तर्गत उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई जुनियर डिभिजन तालिम संचालन गर्ने गरिएको नेपाली सेनाले जनाएको छ ।
















