सुनसरी – सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो।

ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।