सुनसरी– अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करणमा १० टिमले प्रतिष्पर्धा गर्ने भएका छन ।

माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने प्रतियोगितामा पहिलो पटक १० टिम सहभागी हुने भएका हुन ।

बिं सं. २०५५ सालदेखी सुरु भएको गोल्डकप २५ बर्षदेखी ८ टिमको मात्र सहभागीतामा सञ्चालन हुदै आएको थियो ।

आयोजक धरान फुटबल क्लब बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारत र भुटानका तीन टिम सहित नेपालका १० टोलीले सहभागीता जनाउने जानकारी दिएको छ ।

गत बर्ष रजत उत्सवकोरुपमा आयोजना गरिएको प्रतियोगितालाई यस बर्षदेखी बुहत जनाउदै लैजाने योजना अनुसार १० टिमलाई प्रतिष्पर्धा गराउन लागिएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

आउदा संस्करणहरुमा सहभागी टिम संख्या थप बढाउदै लैजाने योजना रहेको तामाङको भनाई छ ।

धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा साबिक बिजेता एनआरटी क्लब (काठमाडौं), चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब (ललितपुर), झापा–११, आयोजक धरान फुटबल क्लब, भुटानको रोयल थिम्पु क्लब र भारतको जर्जियन क्लब कालेम्पुङले सहभागीता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई होन्डा स्कुटर प्रदान गरिने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैया तथा सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैया प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।