विराटनगर । नेकपा एमालेले झापामा ६२ सदस्यीय यूथ भोलेन्टियर फोर्स घोषणा गरेको छ। विकास गिरीको संयोजकत्वमा फोर्स घोषणा गरेको हो । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय झापामा आयोजित एक कार्यक्रमका बिच यूथ भोलेन्टियर फोर्सका घोषणा गरिएको थियो । यूथ भोलेन्टियर फोर्स झापाको सहायक कमान्डरहरूमा भानु सुब्बा र बाबु लिम्बूलाई तोकिएको छ। फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले यूथ भोलेन्टियर फोर्स झापाको पहिलो जिल्ला नेतृत्व घोषणा गर्दै उनीहरूलाई शपथग्रहण गराएका छन् ।  

श्रेष्ठले नेपाली जनताको सुरक्षाका लागि देशभर सङ्गठन विस्तार गर्ने दाबी गरे ।  देशभित्र भइरहेका विदेशी चलखेल विरुद्ध युवाहरू एक हुन उनले आह्वान गरे । देश जलाउने र बनाउने बीचको भिन्नता छुट्टाएर अघि बढ्न उनले युवाहरूलाई आव्हान समेत गरे ।

घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य झापा संयोजक रोमनाथ ओली, यूथ भोलेन्टियर फोर्सका केन्द्रीय सदस्य राजकुमार थापा, एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल लगायत सहभागी थिए ।  यूथ भोलेन्टियर फोर्स जिल्लाको टोल टोलमा सुरक्षा दस्ताका रूपमा गठन गर्दै जाने झापाका कमान्डर विकास गिरीले बताए। अप्ठेरो अवस्थामा सुरक्षाको निम्ति यो फोर्स गठन गरिएको दाबी गरिन्छ । 

गत मङ्सिर ५ गते काठमाडौँमा नेकपा एमालेले युवा दस्ता ‘यूथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमान्ड घोषणा गरेको थियो । काठमाडौँको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्डर घोषणा गरेका गरेका थिए ।  केन्द्रीय कमान्डरको प्रमुखमा पुष्पराज श्रेष्ठ नेतृत्वले अहिले फोर्सलाई जिल्ला तहमा पुर्‍याउन थालेको हो ।