सुनसरी – मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सोमवार राति साढे ७ बजे स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा भएको दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष ४० वर्षीय कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष ३१ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्रदेश नम्बर १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–५ निवासी साह र पछाडि सवार झा को मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएको केही समयपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिको कारण दुर्घटना भएको बताइएको छ ।
मृतक साह दुहबी जेसीज २०२४ का अध्यक्ष हुन् भने कञ्चन दुहबी जेसीज २०१८ की अध्यक्ष तथा जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














