विराटनगर । झापा क्षेत्र नम्बर ५ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गराएका एमाले अध्यक्ष केपी शर्माले बिहानैबाट कार्यकर्तासँग भेटघाट र आन्तरिक कार्यक्रममा लागेका छन् । जेन्जी आन्दोलनपछि पहिलो पटक गृह नगर दमक आएका अध्यक्ष ओलीले हिजो मध्य राती सम्म कार्यकर्ताहरूसँग भेटघाट गरे ।
अध्यक्ष ओलीले हिजो राती दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूको कुरा सुने । अरुबेला निर्देशनात्मक भाषण गर्ने ओलीले हिजो राती भने तल्लो तहका कार्यकर्ताहरूको कुरा मात्रै सुनेनन् उनीहरूसँग पार्टीलाई जिताउने योजना समेत माग गरे ।
दमकमा १० वटा वाड रहेका छन् । ओलीले प्रत्येक वडा कमिटीसँग छुट्टा छुट्टै भेट्दै कमिटीका पदाधिकारी र सदस्यको कुरा सुने । दमक नगरपालिकामा १० वटा वडाका ४सय हार हारीका कमिटीका पदाधिकारी र सदस्यहरूसँग छलफल गरेका ओली आज भने बिहानै बाट भने अगुवा कार्यकताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् ।
नेकपा एमाले झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार आज कमलका सबै वडा कमिटीका पदाधिकारी र सदस्यसँग बैठक रहेको छ । कमल गाउँपालिकामा ७ वटा वडा रहेको छ । आज पनि हरेक वडा कमिटीसँग छुट्टा छुट्टै बस्ने र उनीहरूको कुरा सुन्ने कार्यक्रम तय भएको दाहालले बताए ।
दाहालले भने, आज ७ वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम तय भएको छ त्यसपछि ओली युवा भेलामा सहभागी हने छन् । युवा सङ्घ नेपालले आज युवा भेलाको आयोजना गरेको छ । सो भेला पछि शुभचिन्तक र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा दमक नगरपालिका,कमल गाउँपालिका गौरा दह नगरपालिकाका ८ वटा वडा र गौरीगञ्ज गाउँपालिकाका ४ वटा वडा पर्दछन् । ती सबै वडामा रहेका पार्टी कमिटीका पदाधिकारी र सदस्यहरूको रिपाटिंग सुनिसकेपछि थप कार्यक्रम तय गरिने छ ।
अध्यक्ष ओलीले ३० वर्षअघि दमकमा आफैले बनाएको घर अवलोकन गरेका थिए। जेन्नी आन्दोलनका क्रममा सो घर जलाइएको थियो । घरमा भएका सर सामान समेत लुटपाट भएपछि अहिले सो घरको मर्मत सम्भार भएको छैन । निर्वाचन लड्न झापा आएका ओली अहिले भने होटलमा बस्दै आएका छन् ।
ओलीले आफ्नो घर बाहेक भदौ २४ मा जलाइएका सकारी भवनका अवलोकन गरेका छन्। जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते झापा ५ आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमक नगरपालिका, इलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय भवन जलाइएको थियो । उनी राप्रपाका प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको घर पुगेका थिए ।
उनले हिजै दमकमा रहेको ज्येष्ठ नागरिक भवन समेत पुगे । ओली ज्येष्ठ नागरिक भवन पुग्दा केही ज्येष्ठ नागरिकहरू ओलीसँग रोएका थिए ।
ओली माघ ९ गते सम्म दमक बस्ने कार्य तालिका रहेको एमाले झापाका सचिव तुलसी कार्कीले बताए ।
















