सुनसरी । भारतबाट भन्सार छलेर तथा चोरी तस्करी गरी ल्याइएका सवारी साधन नियन्त्रणका लागि अभियान चलाएको कोसी प्रदेश ट्राफिक प्रहरीले थप दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
ती सवारी साधन आवश्यक कागजात बिना तथा नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेका थिए ।
नियन्त्रणमा लिइएका ती दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई प्रहरीले थप कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्ने क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
धरान उपमहानगरपालिका–१७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका–५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो जिप गत पौष ११ र १२ गते नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
जाँचका क्रममा उक्त सवारी साधनहरूमा प्रयोग गरिएका सवारी नम्बर, इन्जिन नम्बर र चेसिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको तथा ती नम्बरहरू परिवर्तन गरी गैर कानुनी रूपमा सञ्चालन गरिएको पुष्टि भएको गिरीले बताए ।
यसअघि पनि कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पहाडी जिल्लाबाट पाचवटा बोलेरो नियन्त्रणमा लिएर भन्सार भन्सार कार्यालयमा बुझाएको थियो ।