इटहरी । इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एकै परिवारका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३५ वर्षीया जैतुन खातुन, उनका छोरा १९ वर्षीय मोहमद सैफुदिन र नन्द ३५ वर्षीया मन्जिना खातुन रहेका छन् ।

प्रहरीका अनुसार मस्लाउदिन मियाँको घरमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा सोमबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट टोली खटिएको थियो ।

मियाँको घरमा छापा हानेर प्रहरीले उनकी पत्नी, छोरा र बहिनीलाई पक्राउ गरेको हो ।

घर खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा १० ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ९० हजार रूपैयाँ नगद पनि बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।