सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि बोलाएको छ ।

सुनसरी क्षेत्र नम्बर एक निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा बालबालिकाको प्रयोगको विषयमा उजुरी परेपछि छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । 


केही दिन अघि श्रम संस्कृति पार्टीले निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा उजुरी परेको थियो । सो उजुरीका विषयमा आवश्यक छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

उनले भने, उजुरी परेपछि के कसो भएको भन्ने विषयमा उहाँलाई छलफलका लागि बोलाइएको हो । उहाँले नगर बाहिर छु धरान आएपछि भेट्न आउछु भन्नुभएको छ । 


उजुरीको विषयमा आवश्यक जाँच गर्ने काम भएको अधिकृत घिमिरले जानकारी दिए । साम्पाङसँग आवश्यक सोधपुछ गरेपछि आवश्यक कारबाही प्रकृया अगाडी बढाउने अधिकृत घिमिरले जानकारी दिए । 

हर्क साम्पाङ चुनावी प्रचारका लागि पश्चिम नेपालमा पुगेका छन् । 

धरान नगर बाल सञ्जालले गत आइतबार सुनसरी १ को निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा बालबालिका प्रयोग गरेकामा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको थियो । 


बाल सञ्जालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा प्रयोग गरिएको छ।

उजुरी बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा दर्ता गराएका हुन्।