विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी भएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवन आगजनी भएपछि प्रदेश सभा बस्न सकेको छ ।


मोरङ कटहरी स्थित तरकारी बजारमा प्रदेश सभा सारेर बैठक बोलाउने तयारी भएको हो । प्रदेश सभा बोलाउनका लागि प्रदेश सभा सचिवालय प्रदेश सभाको बैठक बस्ने हलका व्यवस्थापन भइसकेको छ । हल बनिसकेपछि माघको २२ देखि २५ भित्र प्रदेश सभा बोलाउने तयारी थालेको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार, अब प्रदेश सभाको बैठक धेरै विलम्ब नगर्ने तयारीमा मुख्यमन्त्री देखिएका छन्, त्यसो हुँदा माघको २२ देखि २५ भित्रमा प्रदेश सभा बोलाउने भन्ने योजना रहेको छ।


प्रदेश सभा बोलाउने तयारी भएको बेला एमालेले भने प्रमुख सचेतक नै नियुक्त गर्नु पर्ने छ । नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि अहिले एमाले प्रमुख सचेतक विहीन अवस्थामा छ । नेकपा एमालेबाट अहिले ३ जनाको नाम चर्चामा छ । पहिलो नम्बर तेह्रथुम प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको नाम चर्चा छ । उनलाई मन्त्री बन्ने आश्वासन बनाउन नसकेपछि प्रमुख सचेतक बनाएर व्यवस्थापनको तयारीमा मुख्यमन्त्री देखिएका छन् ।


नेकपा एमालेले प्रमुख सचेतक बनाउन सक्ने दुलाल तेह्रथुममा लामो समय पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी २०७९ सालको प्रदेश सभाको निर्वाचनमा तेह्रथुम क्षेत्र नम्बर १९१० बाट निर्वाचित भएका थिए । २०३५ सालदेखि निरन्तर पार्टी राजनीति हुँदै २०५४ सालमा जिल्ला विकास समितिको सभापति भइसकेका दुलाल अनुभवी नेताका रूपमा चिनिन्छन् ।


नागरिक र जनजीविकाको सवालमा प्रदेश सभा भित्र सक्रिय आफ्नो उपस्थिति देखाउँदै आएका छन् । उनी अहिले पनि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य छन् ।


यस्तै, सुनसरी १ ९२० बाट प्रदेश सभा सदस्य बनेका रमेश बस्नेत र झापाका छवि चुँडाल पनि प्रमुख सचेतक हुने दौडमा रहेका छन् । मुख्यमन्त्री श्रोतका अनुसार ३ जना मध्ये एक जनालाई दलको प्रमुख सचेतक बनाउने तयारी भएको छ । नेपाली कांग्रेसका सचेतक शोभा चेम्जोङ पनि भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा नियुक्त भएपछि अहिले सचेतक रिक्त रहेको छ ।