सुनसरी । सामाजिक कार्यका विद्यार्थीको क्षमता विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयमा नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु भएको छ ।
युरोपियन युनियनको सहयोगमा सञ्चालित उच्च शिक्षामा क्षमता विकास परियोजना अन्तर्गत नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु भएको हो ।
सन् २०२६ को जनवरीदेखि सुरु भएको परियोजनामा चेक रिपब्लिकको ओष्ट्राभा विश्वविद्यालय, स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय र फिनल्यान्डको इष्टर्न फिनल्यान्ड विश्वविद्यालयको सहकार्य छ ।
सन् २०२८ सम्म सञ्चालन हुने परियोजना पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा समेत सुरु भएको छ ।
परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकहरूलाई प्रशिक्षकको रूपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ ।
परियोजनाले नेपालभरका छ सय जना सामाजिक कार्यका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष राखेको छ ।
परियोजनाका स्रोत व्यक्तिहरू स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय प्राध्यापक डाक्टर एन्टिनो लोपेज र डाक्टर इनेश मार्टिनेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा माघ १२ गते सामाजिक कार्यका विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गर्नुभएको छ ।
यस्तै, मङ्गलवार सामाजिक कार्यको अध्ययन सकेर काम गरिरहेका विद्यार्थी र सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । विराटनगर स्थित बाल सुधार गृह, सिविन नेपाल, रिचमण्ड फेलोसिपको कार्यालयको अवलोकन भ्रमण गरी उनीहरू गर्दै आएको कामको विषयमा स्रोत व्यक्तिद्वयले जानकारी लिनुका साथै कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।
छलफल मुख्य गरी नेपालमा सामाजिक कार्य शिक्षाको अवस्था, चुनौतीहरू, सम्भावना, अवसर र पाठ्यक्रममा गर्नुपर्ने सुधारमा केन्द्रित रहेको जनाइएको छ ।

















