विराटनगर । विद्यार्थीहरूको तार्किक क्षमता र वाककला विकास गर्ने उद्देश्यका साथ चुँडाकबी फाउन्डेसनद्वारा आयोजित मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष माघ १६ गते आयोजना गरिँदै आएको यस प्रतियोगितामा यस वर्ष 'कृत्रिम बौद्धिकता ( एआई) ले मानिसलाई नियन्त्रण गर्न सक्छ' र ' एआई मानिसको नियन्त्रणमै रहन्छ' भन्ने समसामयिक विषयमा बहस गरिएको थियो।
प्रतियोगितामा सहभागी भएका ४० भन्दा बढी विद्यालयका प्रतिस्पर्धीहरूले कार्यक्रममा आफ्नो तर्क प्रस्तुत गरेका थिए।
प्रतियोगितामा 'एआईले मानिसलाई नियन्त्रण गर्न सक्छ' भन्ने पक्ष समूहबाट राष्ट्र निर्माण माध्यमिक विद्यालयकी कृतिका बानियाँ प्रथम भएकी छन्। त्यसै गरी सुबिजीमुर एकेडेमीकी मनिषा थापाले द्वितीय र नेपाल आदर्शकी आयुषी सुवेदीले तृतीय स्थान हासिल गरे। एआई मानिसकै नियन्त्रणमा रहन्छ' भन्ने विपक्ष समूहबाट सुकुना माध्यमिक विद्यालयकी दिपशिखा खनाल प्रथम, सत्यनारायण माध्यमिक विद्यालयकी आरती अधिकारी द्वितीय र रमाइलो बाल जगतका रिवाश कार्की तृतीय भएको आयोजक चुडाकवि फाउन्डेसनका महासचिव रिता न्यौपानेले जानकारी दिइन्।।
विजेताहरूलाई फाउन्डेसनले नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरेको छ। पक्ष र विपक्ष दुवै समूहबाट प्रथम हुनेले ५१ हजार, द्वितीय हुनेले ३१ हजार र तृतीय हुनेले २१ हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका निवर्तमान सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले यस्ता प्रतियोगिताले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन सिकाउने बताए । विद्यार्थीहरूको तर्क गर्ने क्षमताको वृद्धि गर्न यस्ता खालका प्रतियोगिताहरू सबै विद्यालयहरूले आयोजना गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुभाष श्री पोखरेल, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो। विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने यस्ता कार्यक्रममा पालिकाहरूको सक्रियता अझ बढ्नुपर्नेमा आयोजकले जोड दिएको छ। कार्यक्रमलाई स्मृति बोर्डिङ स्कुल, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय लगायत विभिन्न पालिकाहरूले समन्वय गरेको महासचिव तथा स्मृति बोर्डिङ स्कुलका प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिइन्। विभिन्न विधाका खेलाडीलाई सम्मान समेत गरिएको थियोे ।
















