उर्लाबारी। उर्लाबारी नगरपालिकाको आयोजनामा लैंगिक हिंसा सम्बन्धी घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि सञ्चालित तीन दिने तालिम  सम्पन्न भएको छ। माघ १३ गतेदेखि १५ गतेसम्म सञ्चालित यस तालिममा लैंगिक हिंसा नियन्त्रणको क्षेत्रमा कार्यरत विभिन्न सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। लैंगिक हिंसाबाट पीडित तथा प्रभावित भएका व्यक्तिहरूलाई व्यवस्थित र चरणबद्ध रूपमा आवश्यक सेवा प्रवाह गर्न तथा सेवा प्रदायकहरूमा कार्यगत सीप र दक्षता वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

​तालिमको समापन सत्र उर्लाबारी नगरपालिकाका उपप्रमुख  मीना कुमारी खतिवडाको अध्यक्षतामा सञ्चालन भएको थियो।  प्रशिक्षण कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालयका अधिकारीहरू, विद्यालयका प्रतिनिधिहरू तथा सामुदायिक संस्थाका प्रतिनिधिहरू गरी कुल २० जनाको सक्रिय सहभागिता रहेको थियो। तालिमको मुख्य सहजीकरण राष्ट्रिय बालअधिकार परिषद्का प्रदेश समन्वय अधिकृत  सुमन अधिकारीले गरेका थिए। ​कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाका लैंगिक विज्ञ जानकी कुवँर र मामला व्यवस्थापक  स्वस्तिका पोखरेलको समेत प्रशिक्षणमा सहभागी थिए। तालिमका क्रममा हिंसा पीडितहरूको सुरक्षा, गोपनीयता र न्यायमा पहुँच सुनिश्चित गर्दै कसरी घटनाको व्यवस्थापन गर्ने भन्ने विषयमा  छलफल र अभ्यास गराइएको थियो। समापनका अवसरमा सहभागीहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै हिंसा न्यूनीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।