विराटनगर ।चुनाव नजिकिँदै जाँदा युवाहरूको आकर्षण बढ्न थालेको छ। नेकपा एमाले मोरङ क्षेत्र नं. ४ ले आगामी निर्वाचनलाई लक्षित गर्दै शुक्रबार विराटनगर–१९ स्थित दुर्गा मन्दिर सामुदायिक भवनमा भव्य 'निर्वाचन विशेष युवा भेला' सम्पन्न गरेको हाे। नेकपा एमाले मोरङ क्षेत्र नं. ४ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य एवम् साेही क्षेत्रका उम्मेदवार जीवन घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए।
​प्रमुख अतिथि घिमिरेले भेलालाई सम्बोधन गर्दै मुलुकको समसामयिक राजनीतिक अवस्था र लोकतन्त्रको रक्षामा युवाको भूमिका निर्णायक रहने बताए । आगामी निर्वाचन केवल सत्ता प्राप्तिको विषय नभई मुलुकको भविष्य निर्माणसँग जोडिएको राजनीतिक लडाइँ भएको उल्लेख गर्दै उनलेे युवाहरूलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा मजबुत बन्न आह्वान गरे। पूर्व मन्त्री घिमिरेले एमाले नेतृत्वका सरकारहरूले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा गरेका महत्त्वपूर्ण कामहरूलाई जनतासम्म प्रभावकारी ढंगले पुर्‍याउन युवाहरूलाई निर्देशन दिए। उनलेे सामाजिक सञ्जालमा फैलिने भ्रम र गलत प्रचारको प्रतिवाद गर्न एक सचेत, प्रशिक्षित र अनुशासित युवा पंक्ति आवश्यक रहेकोमा विशेष जोड दिए।
​भेलामा सहभागी अन्य वक्ताहरूले संगठन सुदृढीकरण, मतदाता प्रशिक्षण र घरदैलो अभियानमा युवाको भूमिकाबारे चर्चा गर्दै एमालेको नीति र सिद्धान्तप्रति जनविश्वास बलियो बनाउन युवाहरू अग्रपंक्तिमा उभिनुपर्ने धारणा राखेका थिए। आयोजक कमिटीले आगामी निर्वाचनका कार्यक्रमहरूलाई विशेष गरी महिला र युवा केन्द्रित नेतृत्वसहित अगाडि बढाउने रणनीति तय गरेको छ। युवाहरूको उत्साहजनक सहभागिता र प्रतिबद्धताले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक सफलता दिलाउने विश्वास व्यक्त गरिएको छ। भेलामा सहभागी मोरङ क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न पालिका, वडा तथा टोल कमिटीका युवाहरूले पार्टीको लक्ष्य प्राप्तिका लागि पूर्ण सक्रियताका साथ लाग्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।