सुनसरी । नेपाली चलचित्र क्षेत्रमा याक्थुङ भाषाका चलचित्रहरूको योगदान, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले दोस्रो संस्करणको ‘याक्थुङ सिने अवार्ड–२०८२ (International)’ आयोजना हुने भएको छ। आयोजक याक्थुङ चलचित्रकर्मी संघले सोमबार धरानमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
याक्थुङ चलचित्रकर्मीहरूबीच आपसी सहकार्य बढाउँदै याक्थुङ चलचित्र र नेपाली चलचित्रबीच साइनो मजबुत बनाउने, निर्माण भएका चलचित्रहरूको स्तर उकास्ने तथा याक्थुङ कला–संस्कृतिलाई चलचित्रमार्फत विश्वसामु चिनाउने उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।
यसअघि संघको अध्यक्ष नवीन मेन्याङ्बोको पहिलो कार्यकालमा २०८० असार २ र ३ गते याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा चर्चित सिनेमा ‘नुमाफुङ’का लेखक तथा निर्देशक नवीन सुब्बालाई अभिनन्दन, लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ सम्मान, निर्देशक सुरज सुब्बालाई योम्फुलुङ अवार्ड, कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ वरिष्ठ कलाकार’ र किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’ पदबाट सम्मान गरिएको थियो।
आयोजक संस्थाका अनुसार याक्थुङ चलचित्रहरूको प्रचार–प्रसार, बजारीकरण तथा कलाकार, निर्देशक र प्राविधिकलाई हौसला र प्रोत्साहन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइँदै आएको हो।
गत वर्ष वरिष्ठ कलाकार प्रेम सुब्बालाई ‘सङ्केत सम्मान–नेपाल’ अवार्डबाट सम्मान गरिएको थियो।
अवार्ड कार्यक्रम शनिबार नेपालका प्रतिष्ठित कलाकारहरूको उपस्थितिमा आयोजना हुने जानकारी दिइएको छ।
कार्यक्रममा चलचित्र, म्युजिक भिडियो तथा लघु चलचित्रसमेत समेटिने आयोजकले जनाएको छ।

















