विराटनगर। नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो कार्यकालमा भएका विकास निर्माणका कार्यहरूमा विपक्षीले भ्रम फैलाएको आरोप लगाएका छन् ।
नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ को चुनावी कार्यक्रम बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिँदै उनले नेकपा एमालेले गरेका कामहरूलाई अहिले विपक्षी नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गलत प्रचार गरेको बताए।
उनले विशेष गरी कोयलपुर–रानी सडक खण्ड जस्तो बहु वर्षीय गौरवको आयोजनाको उदाहरण दिँदै उक्त योजनाको सुरुवात र शिलान्यास आफ्नै कार्यकालमा भएको दाबी गर्दै आफ्नै कार्यकालमा धेरै काम पुरा भएकोले अर्को पार्टीले चलाएको हल्ला मात्रै भएको बताए। उनले भने,‘झुटो कुरा झुट्टै हुन्छ, चाहे त्यो ठुलाले बोलुन् या सानाले, मलाई यो काम सुरु गर्न ९ महिना त गुरुयोजना तयार गर्न नै समय लागेको थियो, शिलान्यासको स्तम्भ नै त्यसको प्रमाण अहिले यहीँ छ।’
२०७९ सालको निर्वाचनमा आफू जनप्रतिनिधि नभएपछि ती योजनाहरू अधुरो रहेकोमा चिन्ता व्यक्त गर्दै विकासको जस लिन खोज्नेहरूलाई तथ्यका आधारमा प्रतिवाद गरे। आफ्नो कार्यकालमा भएका साढे ३ सय वटा वार्ड–स्तरीय ठुला कार्यक्रमहरूको सफ्ट कपी नै सुरक्षित रहेको र ती विवरणहरू जुनसुकै ठाउँमा बसेर सार्वजनिक गर्न तयार रहेको उल्लेख गरे।
पण्डितका अनुसार, विकास गर्ने र नगर्ने शक्तिहरू बीचको अन्तर नै अहिलेको मुख्य राजनीतिक मुद्दा भएको छ।
नयाँ राजनीतिक शक्तिहरूप्रति निकै आक्रामक देखिएका पण्डितले उनीहरूलाई ’फेसबुकै पार्टी’ को संज्ञा दिए। सामाजिक सञ्जालमा मात्रै सक्रिय रहने र सिंहदरबार, सर्वोच्च अदालत वा संसद् भवन जलाउने जस्ता विध्वंसकारी मानसिकता बोकेका उम्मेदवारहरूले देश निर्माण गर्न नसक्ने तर्क गरे। ‘नकारात्मकता र असन्तुष्टिलाई मात्रै समातेर नेता बन्न खोज्नेहरूले जनताको चाहना पूरा गर्न सक्दैनन्’, उनले भने, हाँसेर सपना मात्र बाँड्नेहरू बिपनामा काम गर्न डराउने गरेका छन्।’
उनले जनतालाई भगवान् को संज्ञा दिँदै आध्यात्मिक रूपमा जनताको सेवा नै आफ्नो मूल धर्म भएको बताए। ‘जिते गर्छौँ, नजितेको बेलामा पनि सक्दो साथमै हुन्छौँ,’ पण्डितले भने, ‘नेकपा एमालेलाई जिताएर अधुरा कामहरू पूरा गर्ने र नयाँ योजनाहरू सहित अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ।’ मोरङ क्षेत्र नम्बर ६ का एमालेका उम्मेदवार विनोद ढकाल बुबाको निधन पछि अहिले पण्डितले चुनावी कमान्ड सम्हालेर मैदानमा छन्।
















