विराटनगर । नेकपा एमालेले क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरे जिताऊँ अभियान गठन गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य घिमिरेलाई विजयी गराउनका लागि डा. खगेन्द्र आचार्यको संयोजकत्वमा जिताऊँ अभियान समिति गठन गरेको हो। मोरङ क्षेत्र नम्बर ४ मा भएको एक विशेष भेलाले डा. आचार्यको नेतृत्वमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, युवा र समाजसेवीहरू सम्मिलित जीवन घिमिरे जिताऊँ अभियान सञ्चालन गरेको हो।

यस अभियानले मुख्यतया जीवन घिमिरेले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरेका कामहरूको प्रचार प्रसार, जनमत सिर्जना गर्ने र समाजका विभिन्न क्षेत्रका विज्ञहरूलाई चुनावी प्रक्रियामा जोडेर योजनाबद्ध रूपमा अघि बढ्ने लक्ष्य राखेको छ। समितिले स्थानीय तहका समस्या र जनताका वास्तविक आवश्यकताहरूलाई उम्मेदवारसम्म पुर्‍याउने र त्यसको समाधानका लागि ठोस प्रतिबद्धता खोज्ने कार्यलाई प्राथमिकता दिने जनाएको छ।

समितिका संयोजक डा. खगेन्द्र आचार्यले जीवन घिमिरेको शालीन व्यक्तित्व र विकास प्रेमी छविलाई जनतामाझ अझ प्रभावकारी रूपमा लैजान यो समितिले सेतुको काम गर्ने बताए।

ठोस कार्य योजनासहित जनताको घरदैलोमा पुग्ने दृढता व्यक्त गर्दै उनले अहिले भइरहेको गलत प्रचारलाई चिर्ने र रणनीतिक योजनाहरू समेत बनाउने योजना अभियानको रहेको बताए। 

कार्यक्रममा नेता जीवन घिमिरेले यो अभियानमा बौद्धिक वर्गको साथ र सहयोगले आफूलाई थप ऊर्जा मिलेको र जनताको विश्वास जित्नेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताए। अभियान समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा घिमिरेलाई निर्वाचित गराउनको लागि सबै क्षेत्रलाई जोडेर लग्ने समेत भूमिका खेल्ने नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिका संयोजक राजन भण्डारीले जानकारी दिए। चुनावी अभियानको क्रममा अहिलेसम्म ग्रामथान, बेलवारी, विराटनगरका धेरै वडाहरूमा घरदैलो कार्यक्रम सकिएको बताए। घरदैलोमा जाँदा मतदाताबाट आएका गुनसाहरुलाई समेत सम्बोधन गर्ने गरी जीवन घिमिरे जिताऊँ अभियानले काम गर्ने उनले जानकारी दिए ।