सुनसरी । भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ। 


आज गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक बसी निर्वाचन सुरक्षा लगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो।


गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको थियो । 


छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराएका थिए ।


बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ।


शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ।


गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए।


बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका छन्।