सुनसरी । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको इतिहास समेटिएको “इनरुवाको नालीबेली” नामक पुस्तक विमोचन गरिएको छ ।
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले बिहीबार एक कार्यक्रमकाबिच उक्त पुस्तकको औपचारिक विमोचन गरेका हुन् ।
देवीप्रसाद खतिवडाद्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ ।
इनरुवाका ८२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार पारेका हुन् ।
पुस्तक लेखन तथा सामग्री सङ्कलनको कार्यमा जेनजी युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पुर्याएको खतिवडाले बताए ।
इनरुवाको इतिहास, विकास क्रम तथा विभिन्न सामाजिक गतिविधिलाई एकै स्थानमा समेट्ने प्रयास स्वरूप पुस्तक प्रकाशन गरिएको लेखकले बताएका छन् ।
स्थानीय इतिहासलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले पुस्तक तयार गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।
उक्त पुस्तकको प्रकाशनमा इनरुवा नगरपालिकाले सहयोग गरेको छ ।

















