सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको छ।

इनरुवा नगरपालिकाले शुक्रबारदेखि सडक मिचेर निर्माण गरिएका संरचनामाथि डोजर चलाएको हो। पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बाध्य भएर बल प्रयोग गरी अतिक्रमित संरचना हटाउन थालिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सडक अतिक्रमण बढ्दै गएको पाइएको छ।

सोही राजमार्ग आसपासका एक दर्जन संरचना शुक्रबार भत्काइएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख भण्डारीका अनुसार सडक अतिक्रमण हटाउने अभियान अब निरन्तर रूपमा अघि बढाइनेछ।

स्थानीय तहले सार्वजनिक सडक सुरक्षित राख्न र सवारी आवागमन सहज बनाउन अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ।