विराटनगर। मोरङको विराटनगर रानी स्थित नेपाल भारत सीमामा सामान वारी पारी गर्न घर भित्रैबाट प्वाल बनाएको पाइएपछि प्रशासनले कडाइ थालेको छ । नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बनाइएका घरमा भारत तर्फ जानका लागि प्वाल बनाइएको पाइएपछि सीमामा कडाइ गरिएको हो । 
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सीमामा रहेका घरहरूमा ढोका जस्तो प्वाल बनाएर सामान वारी पारी गर्ने गरेको पाइएको बताए । उनका अनुसार नेपाल तर्फ बनेका ६० वटा घरहरूमा भारत तर्फ जाने प्वाल बनाइएको पाइएको बताए । उनले भने अनुगमनका क्रममा यस्ता प्वालहरूबाट सामान वारी पारी हुने गरेको छ । हामीले अहिले टाल्ने काम गरिरहेका छौ । दशगजा सँगै रहेका  घरहरूमा सामान वारी पारी गर्ने उद्देश्यले यस्ता प्वाल बनाएको भेटिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए । यस्ता प्वालहरूबाट दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा नेपाल ल्याउने गरेको भेटिएको कट्टेलले बताए । 
सीमामा रहेका घरहरूलाई तस्करीको माध्यम बनाइएको पाइएपछि सुरक्षा संयन्त्रले त्यसलाई लक्षित गरी कारबाही अघि बढाएको हो। सीमा क्षेत्रका घरभित्रबाट सामान ओसारपसार गर्न बनाइएका प्वालहरू पहिचान गरी बन्द गरिसकिएको  सशस्त्र प्रहरीले जनाएको छ। घरायसी सामानका रूपमा दाल, चामल लगायतका वस्तुहरू ल्याउने काममा समेत कडाइ गरिएको सशस्त्रले जनाएको छ। यसरी अवैध बाटोबाट सामान चोरी निकासी हुँदा राजश्वमा गिरावट आएको भन्दै यसलाई रोक्न कडाइ गरिएका मोरङ प्रशासनले जनाएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टा तथा विराटनगरको रानी नाका लगायत भन्सार नाकामा कडाइ गर्न थालेको हो।
सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको व्यवसायीको गुनासो सँगै नाकामा कडाइ गरिएको हो।
सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा नाकामा एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन भनिएको छ।
भन्सार महसुल नबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताए ।
गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको उनको भनाइ छ। सिमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ। ​​सशस्त्र प्रहरीका अनुसार, सर्वसाधारणलाई सीमा नाकाको नियमका बारेमा जानकारी दिन माइकबाट सूचना प्रसारण गर्ने र फ्लेक्स बोर्डहरू राख्ने कार्य भइरहेको छ। नियमित  एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा लाग्ने भन्सार महसुल र कानुनी प्रावधानका बारेमा जानकारी गराउँदै सर्वसाधारणलाई सचेत गराउन खोजिएको छ।