सुनसरी । श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन आवश्यक रहेको बताउँदै उक्त प्रणालीको प्रस्ताव अघि सारेका हुन्।

जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अध्यक्ष साम्पाङले राखेका छन्  सोही कार्यकारी प्रमुखले आफ्नो नेतृत्वमा मन्त्री परिषद् गठन गर्नेछन्। मन्त्री परिषद् चयन गर्दा सभ्यता, जाति, समुदाय र लिङ्गका आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पेश गरिएको प्रस्ताव पत्रमा उल्लेख गरिएको छ।

यसका साथै, सरकार सञ्चालनका कार्यविधि निर्धारण गर्ने, कानुन निर्माण गर्ने, र सरकारी कामहरू निर्धारित प्रक्रियाअनुसार भए नभएको अध्ययन, मूल्याङ्कन तथा निरीक्षण गर्ने व्यवस्था हुनुपर्ने पनि प्रस्तावमा समेटिएको छ। साथै, आवश्यक सुझाव प्रदान गर्ने संयन्त्रसमेत स्थापित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।