सुनसरी — सुनसरीको दुहबीमा एकल महिलामाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितले गुनासो गरेकी छन्।
दुहबी नगरपालिका–५ मा बस्दै आएकी एकल महिला सुनिता आनन्द श्रेष्ठ ले सोमबार पत्रकार सम्मेलन गर्दै आफूमाथि निर्घात कुटपिट गर्ने अनिता भण्डारी र सुनिता दाहाल लाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको आरोप लगाएकी हुन्।
श्रेष्ठका अनुसार केही दिनअघि घरायसी विवादका क्रममा ती महिलाले आफूमाथि हातपात गर्दै कुटपिट गरेका थिए। घटनापछि आफू घाइते भएको र उपचारसमेत गराउनुपरेको उनले बताइन्।
उनले घटनापछि इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिए पनि प्रहरीले उजुरी दर्ता गर्न ढिलाइ गरेको, पटक–पटक धाउँदा पनि दोषीलाई पक्राउ नगरेको आरोप लगाइन्। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निवेदनमा उनले प्रहरीसमक्ष पटकपटक न्यायको माग गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरेकी छन्।
श्रेष्ठले आफू एकल महिला भएकै कारण कमजोर ठानेर दुर्व्यवहार गरिएको दाबी गरिन्। “ममाथि अन्याय भयो, दोषीलाई कारबाही हुनुपर्छ,” उनले भनिन्।
पीडितले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मानवअधिकारकर्मीसमक्ष समेत आग्रह गरेकी छन्।
इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरिक्षक शिबराम थापाले पिडकको खोजतलास भैरहेको र चांडै पक्राउ गरेर थप कारबाही अघि बढाउने उनले जानकारी दिए ।

















