सुनसरी । कोशी प्रदेश खेलकुद विकास बोर्डमा पछिल्लो ७ महिनादेखि सदस्य सचिव नियुक्त हुन नसक्दा प्रदेशभरिका खेलकुद गतिविधि प्रभावित बनेका छन् ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामको कार्यकाल गत भदौ २५ गते सकिएपनि राजनीतिक भागबण्डा र दलगत स्वार्थका कारण नेतृत्वविहीन बनेको बोर्डले नियमित काम गर्न नसक्दा जिल्लास्तरीयदेखि प्रदेशस्तरीय प्रतियोगितासम्म अन्योलमा परेका छन् ।
प्रदेशका विभिन्न स्थानीय तहले विद्यालयस्तरबाटै ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताका लागि खेलाडी छनोट गरिसकेका छन् । तर, बोर्ड नेतृत्वविहीन हुँदा जिल्ला छनोट प्रक्रिया अघि बढ्न सकेको छैन ।
बोर्डले जिल्ला छनोटका लागि छुट्याइएको बजेट नै निकासा गर्न नसक्दा छनोट प्रक्रिया अलपत्र परेको हो । यसले हजारौं खेलाडीको अवसरनै रोकिएको सुनसरी जिल्ला खेलकुद बिकास समितीका पूर्व अध्यक्ष अनुरोध थापाले बताए ।
थापा भन्छन– प्रदेश खेलकुद बिकास बोर्ड ७ महिनादेखी रिक्त छ । बोर्ड मार्फत प्रदेशका १४ वटै जिल्लामा नियुक्त हुनुपर्ने जिल्ला खेलकुद बिकास समिती अध्यक्ष समेत नियुक्त नहुदा जिल्ला जिल्ला तहमा हुनुपर्ने बिभिन्न खेलकुद गतिबिधि ठप्प छ, यसको मार खेलाडीले भोग्नुपरेको छ ।
चालुआर्थिक बर्ष सकिन साढे २ महिना मात्र बांकी रहदा बिभिन्न खेलकुदका लागि छुट्याइएको बजेट समेत फ्रिज हुने जोखिम बढेको छ ।
बिगतमा आर्थिक बर्षको अन्त्यतिर बर्खे झरीमा प्रतियोगिता आयोजना गरेर बजेट सक्ने र प्रतियोगिता औपचारिकतामै सिमित गर्ने परिपाटी यसबर्ष पनि दोहोरिने जोखिम समेत बढेको छ ।
यस्तै, आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत प्रभावित बनेको छ । सामान्यतया राष्ट्रिय प्रतियोगिताअघि प्रदेशस्तरमा प्रशिक्षण, छनोट र तयारी तीव्र बनाइन्छ । तर, कोशी प्रदेशमा नेतृत्व अभावकै कारण ती सबै प्रक्रिया ठप्पजस्तै छन् । समयमै तयारी हुन नसक्दा प्रदेशको समग्र प्रदर्शन बिगतकै जस्तो कमजोर हुने चिन्ता खेलकर्मीहरूले व्यक्त गरेका छन् ।
प्रदेशका विभिन्न सहरमा आयोजना हुने गोल्डकप तथा अन्य प्रतियोगिताहरू पनि बजेट अभावका कारण प्रभावित भएका छन् ।
बोर्डमार्फत वितरण गरिने अनुदान नपाउँदा आयोजकहरू आर्थिक संकटमा परेका छन् । गत माघ महिनामै सम्पन्न बुढासुब्बा गोल्डकप र झापा गोल्डकपले बोर्डबाट पाउनुपर्ने सहयोग रकम अझै पाउन सकेका छैनन ।
केही प्रतियोगिता स्थगित हुने अवस्थामा पुगेका छन् भने केही आयोजकले निजी स्रोतबाटै कार्यक्रम धान्नुपर्ने बाध्यता आएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार बुढासुब्बा गोल्डकप माघ अन्तिम साता सकिएर सबै डकुमेन्ट बुझाइसकिए पनि बोर्डबाट निकासा हुनुपर्ने १० लाख रुपैया सदस्य सचिव नियुक्त हुन नसक्दा अझै निकासा हुन सकेको छैन ।
बोर्डले बुढासुब्बा सहित बिराट गोल्डकप, झापा गोल्डकप र इटहरी गोल्डकपलाई १०–१० लाख रुपैया अनुदान सहयोग उपलब्ध गराउन बजेट बिनियोजन गरेको थियो ।
चारवटै प्रतियोगिता सकिए पनि सहयोग रकम सम्बन्धित क्लबले पाउन सकेका छैनन ।
सदस्य सचिव नियुक्तिमा ढिलाइ हुनुको मुख्य कारण राजनीतिक खिचातानी देखिएको छ । सत्तारुढ दलहरूबीच भागबण्डामा सहमति नजुट्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । विशेषगरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएको नेकपा (एमाले) भित्रकै गुटगत स्वार्थले निर्णय प्रक्रियामा ढिलाइ भइरहेको बताइन्छ ।
यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै त्यसपछिमात्र नियुक्ति गर्ने संकेत दिएका थिए । तर महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि नियुक्ति नहुनुले सरकारको प्राथमिकतामाथि नै प्रश्न उठेको छ ।
खेलकुद क्षेत्रमा सक्रिय व्यक्तिहरू भन्छन्, “नेतृत्व नहुँदा नीति, योजना र बजेट कार्यान्वयन सबै प्रभावित भएका छन् । यसले प्रदेशको मात्र होइन, राष्ट्रिय खेलकुद प्रणालीमै असर पुर्याइरहेको छ ।” विज्ञहरूका अनुसार खेलकुदजस्तो निरन्तर प्रक्रिया आवश्यक पर्ने क्षेत्रमा यस्तो ढिलाइले दीर्घकालीन असर पार्छ ।
प्रतिभाशाली खेलाडीहरू अवसरबाट वञ्चित हुने, प्रशिक्षण चक्र भंग हुने र अन्तरप्रदेशीय प्रतिस्पर्धामा कमजोर प्रदर्शन हुने जोखिम बढ्ने उनीहरूको भनाइ छ ।
सरकारले तत्काल सदस्य सचिव नियुक्त गरी बोर्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग चर्किँदै गएको नेपाल खेलकुद महासंघका सचिव बिप्लब घोषले बताए ।
उनका अनुसार लामो समय सदस्य सचिव नियुक्त नहुदा कोशी प्रदेशको खेलकुद विकासको गति अझै सुस्त हुने र यसको असर समग्र नेपाली खेलकुदमा समेत पर्ने भन्दै खेलाडी तथा प्रशिक्षकहरु चिन्तित देखिएका छन ।
कोसी प्रदेशका सामाजिक बिकास मन्त्री रामप्रसाद महतोले बिभिन्न कारणले सदस्य सचिव नियुत्तीमा ढिलाई भएको बताउदै यही महिनाभित्र बोर्डले पुर्णता पाउने जानकारी दिए ।

















