विराटनगर । प्रतिनिधि सभाको राज्यका निर्देशक सिद्धान्त समितिका सभापति तथा रास्वपा नेता गणेश कार्कीले सरकारले प्रतिनिधि सभाको अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै झन्डै दुई तिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने कुरा पछि खुल्ने बताएका छन् । उनले लेखेका छन् ‘झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । ’
कार्कीले वर्तमान सरकारले संविधानको अक्षरलाई मात्र पालना गरेको तर त्यसको मर्मलाई कुल्चिएको बताएका छन् । उनले लेखेका छन्,‘ अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो, तर यस पटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन।
उनले संविधान अक्षरको मर्ममा बाँच्न तर्क नभएको बताएका छन् । उनले लेखेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’
समितिका सभापति कार्कीले सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति गौरव लागेको बताएका छन् । कार्कीले विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम रहेको बताए । उनले यस अघिका सरकारले यस्तै बेलामा अध्यादेश ब्याउँदाखेरिका प्रश्न गरेको र अहिले आफ्नै सरकारले ल्याएको अध्यादेश प्रति पनि प्रश्न रहेको बताएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले हिजो सरकारले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ ।














