सुनसरी । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली चाड देशभर भूमे स्थानमा पूजा आराधना गरी सुरु भएको छ । उभौली चाड प्रकृति पूजक वा अर्को शब्दमा धर्ती पूजकहरू अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध चाड हो जसलाई “साकेला चाड” पनि भनिन्छ ।
विशेष गरी बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमे स्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उँधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली एक महिनासम्म मनाइन्छ । उभौली सुरु भएसङै अहिले हरेक साकेला थानहरूमा विभिन्न लयका गीतहरू गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्कर देखिन्छ ।
आधुनिक सहरका रूपमा परिचित धरानमा अरू बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरू अहिले उभौली, उँधौली जस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । टोल टोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको देखिन्छ ।

धरान–१६ नवीन बान्तवा भन्नुहुन्छ आजदेखि सुरु भएको किरातीहरुको महान् चाड उभौली साकेला अब एक महिनासम्म हामी साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा सजिएर टोल टोलमा गएर नाच्ने गर्छौ । उहाँ भन्नुहुन्छ, आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किराँतीलाई चिनाउने एउटा मुख्य चाडको रूपमा लिइन्छ, त्यसैले हामीले १०÷१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको विभिन्न ठाउँहरूमा साकेला नाच्न जाने गरेका छौ ।
आजबाट सुरु भएको उभौलीलाई ऋतु परिवर्तनको सङ्केत दिने चाडको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म किरातीहरुले मनाउने उभौली वसन्त ऋतुको समयमा पर्ने गर्दछ । किराँत समुदायले धूमधाम सँग मनाउने उभौली पृथ्वीमा कृषि युग सुरु भएदेखि नै मनाउँदै आइएको बुढापाखाहरुको भनाई छ र यस चाडको पहिलो दिन साकेला थानको वरिपरि चण्डी नाच नाच्दै प्रकृतिको आराधना गर्ने गरिन्छ ।
पहिलो दिन साकेला थानमा चण्डी नाच नाचिने भएकोले पनि यस पर्वको पहिलो दिनलाई चण्डी पूर्णिमा भनेर पनि चिनिन्छ । धरान–११ का सरस्वती राई भन्नुहुन्छ, साकेला किरात जातिको पहिचान हो । साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तवा सिलिका रूपमा विभिन्न गीतहरूको प्रस्तुत गरेर नाच्ने गरिएको उहाँले सुनाउनुभयो । आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर विभिन्न साकेला सिलीहरू भाइ बहिनीहरूलाई सिकाएर धरान बाहेक पूर्वका विभिन्न ठाउँहरूमा अबको एक महिनासम्म नाच्न जाने गरेका छौँ, ।
उहाँले भन्नुभयो,दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्यु चोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाची रहेको हुन्छन् ।

साकेला सांस्कृतिक रूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावरको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरक फरक हुने गरेको किराँत राई याक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
साकेला एउटा अद्भुत शक्ति भएको ढुङ्गा जस्तै हो, कहिले ठुलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पूजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच आजबाट सुरु भएको छ । उहाँले भन्नुभयो, विशेष गरी साकेला हजारौँ किसिमको नाच्ने गरिए पनि अहिले मुख्य तीन वटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिली जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पत्ति भएका किरा फट्याङ्ग्रा, चराचुरुङ्गी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ ।
प्रतिक्रियात्मक सिली हामीले दैनिक रूपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीन वटा मुख्य आधारभित्र हजारौँ सिली हुन्छन् । जसमा रहेर साकेला नाच्ने गरिएको अध्यक्ष राईको भनाइ छ ।
किराँत समुदायले यस दिनलाई सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तवा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली चाडलाई महान् चाडका रूपमा मनाउने गरेका छन् ।
उभौली पर्वलाई किराँत समुदायका जातीहरूले ठाउँ विशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक फरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले “चासोक” वा “यक्वा तङनाम” राई र चाम्लिङ जातीले “साकेला” सुनुवारहरूले “फोलष्यादर” बान्तवाहरूले “साकेन्वा” दुमी राइृहरुले “तोसी” लगायतका इत्यादि नामहरूले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ ।
बुढापाकाको भनाइ अनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोसी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तवा सिली लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तामणि राईले बताउनुभयो । उहाँले भन्नुभयो, पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुँदै गएको उहाँको भनाइ छ ।
पहाडी भेगमा राम नवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ । टोल टोल गाउँ गाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किरात राईहरूले पुर्खा लाई सम्झेर सिलीमार्फत सम्मान गर्ने गरिन्छ किरात राई समुदायमा पुर्खाहरूको ठुलो स्थान र महत्त्व छ वर्षमा दुई पटक उँधौली र उभौलीमा पितृहरूको पूजा अथवा (माङ) गर्ने चलन छ ।
साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ,आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडको रूपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरू मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । साकेला अथवा उभौली,उँधौलीप्रति युवा पुस्ताको चासो बढ्दो देखिन्छ ।

उभौली साकेलाको अवसरमा, आजको दिन किराँती परम्परा अनुसार भूमि पूजन गर्ने पुरानो चलन रही आएको यस वैशाख पूर्णिमा मौसम र प्रकृति सँग सम्बन्ध राख्ने चाडको रूपमा बुझ्न र देख्न सकिन्छ । वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भए पश्चात् चिसो भू भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिस लगायत गाई बस्तु गोठहरू पनि मास्तिर सार्ने थाल्ने चलन अहिले पनि छ ।
चिसो यामको सुरुवात सँगै वासस्थान तल तिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवन शैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसम अनुसार तल (उँधो) वा (उँभो) बास्थान सर्ने चलन थोरै नै भए पनि नेपालका केही भागहरूमा अझै पनि यथावतै नै रहेको बुढापाखाहरुको भनाई छ ।
तराई वा मधेसतिर गर्मी बढ्दै जाँदा माथिल्ला पहाडी र हिमाली भूभागहरूमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जाँदा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाकाको भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदाय द्वारा मनाइने यस चाड “उँभो” शब्दबाट प्रेरित भएर “उभौली” को नामले चिनिने तथा मनाइने गरिएको भनाई छ ।
उभौली धरान, इटहरी, तरहरा, बेलवारी, विराट चोक, दमक, उर्लाबारी, पथरी, बिर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रूपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रूपमा साकेला नाच्ने गरिन्छ । विशेष गरी काठमाडौँको टुँडिखेल, हात्ती वनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ ।
चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रूपमा उँधौली मनाउने प्रचलन छ ।
किराँत जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उँधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उँधौलीलाई विशेष उत्सवका रूपमा मनाउने गरिएको छ ।
















