विराटनगर । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उप महानगरको मेयर पदका आकाङ्क्षीसँग आज छलफल गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति नतोकिँदै प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले मेयर पदका आकाङ्क्षीसँग आज धरानमा छलफल गरेका हुन् । उनले पार्टीको केन्द्रीय कार्यालय रहेको धरान वडा नम्बर १८ मा रहेको ग्रिन टी मा मेयरका आकाङ्क्षीसँग छलफल गरेका हुन् । साम्पाङले ग्रिन टी बाटै प्रतिनिधि सभा सदस्यका उम्मेद्वारहरुको टिकट वितरण गरेका थिए ।
यस्तै प्रत्यक्ष र समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेकाहरूलाई समेत ग्रिन टी मै अभिमुखीकरण गरेका थिए । प्रतिनिधि सभाको बैठक स्थगित रहेको अवस्थामा धरान आएका साम्पाङले धरानको मेयर हुन चाहने आकाँक्षीहरुसँग केही दिन अघि छलफल गर्ने बताएका थिए । उनले मेयर हुन कस कसको चाहाना छ भन्दै आव्हान समेत गरेका थिए । अध्यक्ष साम्पांगको आव्हान अनुसार धरान उप महानगर पालिका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई, व्यवसायी निमाचन्द्र राईले धरानको मेयर हुने आकाङ्क्षा जाहेर गरेका छन् ।
यस्तै श्रम सस्कृती पार्टी धरानका अध्यक्ष दिनेश बान्तवा, नगर सचिव प्रेम श्रेष्ठ र पार्टीका केन्द्रीय सदस्य सुमन श्रेष्ठले धरानको मेयर हुने आँकाक्षा जाहेर गर्दै ग्रिन टी मा पुगेका थिए । आकाङ्क्षीसँग छलफल पछि अध्यक्ष साम्पाङले पहिलो चरणको छलफल भएको बताएका छन् । उनले भने, अहिले नै यही मेयरको उम्मेदवार हो भन्ने कुरा हुँदैन । हामी छलफल गर्दै छौ । यस अघि २०७९ को निर्वाचनमा हर्क साम्पाङ धरानको मेयरमा विजयी भएका थिए । स्वतन्त्र रूपमा निर्वाचन लडेका साम्पांगल ८२ को निर्वाचनमा भने मेयरबाट राजीनामा दिएर सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनी विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका साम्पाङले गएको कार्त्तिकमा आफ्नै अध्यक्षमा श्रम सस्कृती पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । उनको पार्टीले प्रत्यक्ष तर्फ तीन सिट जितेको छ ।

















