​विराटनगर। सुनसरी-मोरङ औद्योगिक कोरिडोरसँगै रहेको मोरङको बुढीगंगा गाउँपालिका-४मा यति बेला खेतैभरि लटरम्म खर्बुजा फलेका छन्। पशुपति कृषि सहकारी संस्था र बुढीगंगा गाउँपालिकाको साझेदारीमा गरिएको यस खेतीले पहिलो गाँसमै सफलताको स्वाद त चखाएको छ, तर बजारीकरणको चुनौतीले किसानको मन भने केही खिन्न बनाएको छ।

​विगतमा खर्बुजा खेतीका लागि यहाँको माटो उपयुक्त नहुने धेरैको अनुमान थियो। तर, गाउँपालिकाले एक विशेष बालीको अवधारणा ल्याएर सहकारीसँग साझेदारी गरेपछि अहिले परिणाम फरक देखिएको छ।687673543_2998906570313654_7799788842995476427_n

​`माटो अनुकुल हुँदैन कि भन्ने प्रश्न पनि उठेका थिए, तर सोचेभन्दा राम्रो उत्पादन निकाल्यौँ,´ पशुपति सहकारी संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक केदार तिमल्सिना भन्छन्। उनका अनुसार, अहिले एउटै खर्बुजा १० देखि साढे ११ किलोसम्मका भएका छन्। पौने तीन बिघा जग्गामा गरिएको यो खेतीबाट तीन लटमा गरी करिब १० टन उत्पादन हुने अनुमान गरिएको छ।

682349994_2178187819608294_3341070539178842393_n

​उत्पादन त भयो, तर अहिले किसानका अगाडि दुई वटा मुख्य समस्या देखिएका छन्। एउटा बेमौसमी वर्षा र अर्को खर्बुजाको आकार ठुलो हुँदा विक्रिवितरणमा समस्या देखिएको छ।

​उपभोक्ताले सामान्यतया ३-४ किलोको खर्बुजा मन पराउँदा  तर यहाँका खर्बुजा १० किलोसम्मका रहेको सहकारीका सचिव ध्रुवप्रसाद अधिकारीले बताए । `हाम्रो फलको आकार अलिक ठुलो भयो, उपभोक्ताले सानो खोजिरहेका छन्, जसले गर्दा बेच्न केही कठिनाइ भइरहेको छ,´ अधिकारी भन्छन्।

656892651_826127423899633_55501211461546541_n

​त्यस्तै, खर्बुजा गर्मीमा बढी बिक्री हुने वस्तु भए पनि यो पटक बेमौसमी निरन्तरको वर्षा र शीतल मौसमले गर्दा बजार व्यवस्थापनमा चुनौती थपिएको छ।

​यस खेतीको मुख्य विशेषता यो पूर्ण रूपमा 'अर्ग्यानिक' हुनु हो। पालिकाको अवधारणा अनुसार, रासायनिक मलको सट्टा कम्पोस्ट र गोबर मल मात्र प्रयोग गरिएको छ। जसका कारण बजारमा पाइने अन्य खर्बुजाभन्दा यसको गुणस्तर र स्वाद राम्रो रहेको दाबी किसानको छ।

673451225_1352082563399119_8698333724398806601_n

​यो खेतीमा बुढीगंगा गाउँपालिकाको ७५ प्रतिशत (४ लाख रुपैयाँ) र सहकारीको २५ प्रतिशत लगानी रहेको छ।

​अहिले किसानहरूले गाउँमै खुद्रा ४० रुपैयाँ प्रतिकिलोमा खर्बुजा बेचिरहेका छन्। तर, ठुलो परिमाणमा उत्पादन भएपछि अब व्यापारीको सहयोग अनिवार्य देखिएको छ।

​अध्यक्ष तिमल्सिना भन्छन्, `हामी बिचौलियाभन्दा पनि सिधै ठुला व्यापारीहरूसँग जोडिन चाहन्छौँ। व्यापारीहरू आउनुहोस्, सिधै किसानबाट लैजानुहोस्, हामी केही सस्तो मूल्यमा पनि दिन तयार छौँ।´

677955042_1591382671943285_4704073439148526427_n

​पालिकाले परीक्षणका रूपमा सुरु गरेको यो खेतीले स्थानीय स्तरमा स्वरोजगार र उत्पादनको सम्भावना  देखाएको छ। तर समयमै बजार व्यवस्थापन हुन नसके किसानको ठुलो लगानी जोखिममा पर्ने हो कि चिन्ता देखिएका बुढीगंगा गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष शशिकान्त चौधरी बताउँछन् ।  पालिकाले समुहिक खेती अभियान अनुसार स्वरोजगार बनाउन कृषिमा लगानी बढाएको छ।अहिले यो खेतीमा दैनिक १० जना सहकारीका सदस्य सक्रिय रूपमा लागेका छन्।