सुनसरी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले प्रभात फेरी गरेको छ ।
प्रत्येक अंग्रेजी बर्षको मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । धरानको छाताचोकमा भेला भएका सुनसरीका क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको प्रभातफेरी भानु चोकमा पुगेर समापन गरिएको थियो ।
प्रभातफेरी पछिको कोण सभा बोल्दै सहभागीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको भौतिक सुरक्षा तथा सूचनाको हकको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले सरकारले निजी मिडियामा दिँदै आएको विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्र गम्भीर आर्थिक सङ्कटमा परेको बताए। “आर्थिक नाकाबन्दी” को संज्ञा दिँदै उनले यस्तो नीतिले सञ्चार गृहहरूको वित्तीय अवस्था कमजोर बनाएको र पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको बताए ।
यसै गरी, प्रेस सेन्टर सुनसरी अध्यक्ष तीर्थ कार्कीले सङ्घीय सरकारले मन्त्रालयहरूबाट सूचना प्राप्त गर्न पत्रकारहरूलाई झन् कठिन बनाउँदै लगेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले प्रेसमाथि बढ्दो दबाबप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको सरकारले नै अहिले त्यसको विपरीत काम गरिरहेको दाबी गरे।

















