सुनसरी । ट्रेड युनियन खारेज गरेको सरकार पत्रकार महासङ्घ जस्तो साझा संस्थामा आँखा लगाउन थालेको नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्माले बताएकी छिन् । 
वर्तमान सरकार नेपाली मिडिया उद्योगलाई धराशायी बनाउने नीतिमा अगाडी बढेकाले नेपाली पत्रकारिता कठिन मोडमा उभिएको बताएकी छिन् । 

नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ साधारण सभामा बोल्दै अध्यक्ष शर्माले समाचार सङ्कलनमै रोक लगाउने र मिडियालाई विज्ञापन बन्द गरेर मिडिया उद्योगलाई आर्थिक रूपमा कमजोर बनाउने काममा लागेको बताइन् । 

उनले पछिल्लो समय सरकारबाटै लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि विभिन्न ढङ्गले प्रहार भइरहेको बताउँदै यस्तो सरकारी नीतिको विरुद्ध पत्रकारहरू एकजुट हुनु आवश्यक भएको बताइन् । अध्यक्ष शर्माले भनिन् ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता सङ्कुचित हुने सङ्केत देखिएको छ, जुनसुकै बेला सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । सबै जिल्लाका साथीहरू तयारमा रहनुपर्ने अवस्था छ ।’

सरकारले संविधान संशोधनको सुझाव लिन सुरु गरेको बताउँदै उनले महासङ्घसँग पनि सुझाव मागिएको बताउँदै भनिन् ‘हामीले प्रारम्भिक सुझाव कार्यदललाई बुझाएका छौँ ।’ 

त्यसमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मौलिक हकका रूपमा अक्षुण्ण राख्नुपर्ने र त्यसमा कुनै पनि प्रतिबन्धात्मक व्यवस्था राख्न नहुने माग गरिएको उनले स्पष्ट गरिन् ।

कार्यक्रमको उद्घाटन सत्रमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले लोकतन्त्रको रक्षाका लागि मिडियासँगै लडेको बताउँदै मिडियाको रक्षाका लागि सधैँ पहल गर्ने प्रतिबद्धता जनाए । 
यस्तै धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्ध रहेको बताए ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले मिडिया माथि आर्थिक नाकाबन्दी, पत्रकारको पेसागत र भौतिक सुरक्षाको चुनौती माथि सञ्चारकर्मीले आफूले गरेको रिपोटिङको सत्य तथ्य स्थापित गर्नु पर्ने चुनौती थपिएको बताए ।

चार पत्रकार पुरस्कृत 

Bibek

पत्रकार महासङ्घ सुनसरीले चार जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । 

अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कार(२०८३) बाट पत्रकार शशि कोइराला पुरस्कृत गरिएको छ । यस्तै ‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट विवेक भट्टराईलाई पुरस्कृत गरिएको छ । 
त्यस्तै अग्रज पत्रकार स्व. डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’बाट रश्मि प्रधान  तथा ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट सुनिल चौधरीलाई पुरस्कृत गरिएको छ ।
 
यता, महासङ्घले पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।  कार्यक्रममा उपस्थित पूर्व सभापतिहरू हर्ष सुब्बा, कृष्ण विनोद लम्साल, कृष्ण अधिकारी, आनन्द श्रेष्ठ, अमर खड्का, र जनकऋषि राईलाई  सम्मान गरिएको थियो । वहाँहलाई महांघस केन्द्रीय अध्यक्ष निर्मला शर्माले दोसल्ला ओढाएर सम्मान व्यक्त गरिन् । 

उद्घाटन पछिको बन्दसत्रले सचिव विनय बाराकोटी र कोषाध्यक्ष विवेक रेग्मीले प्रस्तुत गरेको संस्थाको सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।