सुनसरी । सरकारले ल्याएको विज्ञापन सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै सुनसरीका पत्रकारहरूले सार्वजनिक रूपमा सामूहिक हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन अन्तर्गत शनिबार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको धरानस्थित कार्यालयमा पत्रकारहरू भेला भएर हस्ताक्षर गरेका हुन् ।
पत्रकारहरूले सरकारी निर्णयले स्वतन्त्र तथा निजी सञ्चारमाध्यमलाई विभेद गरेको आरोप लगाएका छन् । उनीहरूले राज्यका सूचना र विज्ञापन वितरणमा समान अवसरको व्यवस्था हुनुपर्ने माग समेत अघि सारेका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेका अनुसार सरकारले खर्च कटौतीलाई आधार बनाएर संघ, प्रदेश र स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तो निर्णयले श्रमजीवी पत्रकारको श्रम, निजी सञ्चारमाध्यमको अस्तित्व र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।
उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले कुनै पनि नीति बनाउँदा राज्यले सबै सञ्चारमाध्यमलाई समान दृष्टिकोणबाट हेर्नुपर्ने धारणा व्यक्त गरे ।
विभेदकारी निर्णयले साना तथा निजी सञ्चारमाध्यम थप संकटमा पर्न सक्ने भन्दै त्यसको विरोधमा हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरिएको उनले बताए ।
महासङ्घले सरकारलाई विज्ञापन नीति पुनरावलोकन गर्दै सबै सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न आग्रह गरेको छ ।
साथै सञ्चार क्षेत्रको दिगोपन र पत्रकारहरूको पेशागत सुरक्षालाई ध्यानमा राखेर निर्णय गर्न समेत सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
















