सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपाल डिभिएम स्कुलले जितेको छ ।
बुधवार इटहरीस्थित डिभिएम जनता पार्कमा सम्पन्न फाइनल खेलमा जनता माध्यमिक विद्यालय इटहरीलाई २५ रनले पराजित गर्दै डिभिएम जिल्ला च्याम्पियन बनेको हो ।22
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको डिभिएमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो ।
डिभिएमका लागि स्वर्णिम कँडेलले सर्वाधिक २७ रनको योगदान दिए भने आयुष पोखरेलले १७ र दिवस विष्टले १२ रन जोडे ।
जनता माविका एसान खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने प्रवीण मण्डलले २ विकेट हात पारे ।233
८७ रनको लक्ष्य पछ्याएको जनता मावि डिभिएमका बलरहरूको कसिलो प्रदर्शनसामु दबाबमा पर्दै निर्धारित १० ओभरमा ६१ रनमा सीमित भयो।
लक्ष्य रक्षा गर्ने क्रममा डिभिएमले बलिङ र बिल्डिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै २५ रनको जित निकाल्न सफल भयो ।
प्रतियोगितामा जनता माविका एसान खान सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) घोषित भए ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिभिएमका युनिष खड्का प्लेयर अफ द म्याच चुनिए भने आदित्य पौडेल उदयमान खेलाडी घोषित भए । प्रतियोगिताको समापन समारोहमा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, उपाध्यक्ष सञ्जीव ढुङ्गाना तथा डिभिएम स्कुलका प्राचार्य वेणुप्रसाद सिटौलाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।44
सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्लाका २० वटा विद्यालय सहभागी भएको प्रतियोगिता संयोजक गोविन्द पौडेलले जानकारी दिए ।
विद्यालय स्तरमा क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले जिल्लामा विद्यालय क्रिकेटको आकर्षण र प्रतिस्पर्धात्मक स्तर बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।
प्रतियोगिताको उपाधिसँगै डिभिएमले राष्ट्रिय स्कुल च्याम्पियनसिपको प्रदेशस्तरीय छनोटमा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्ने भएको छ ।