सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ (सीपी) पौडेलले आफ्नो दुई कार्यकाल पूरा हुन लाग्दा क्रिकेटसँग जोडिएको करिब दुई दशक लामो यात्राको अनुभव सार्वजनिक गरेका छन्।

आगामी जेठ ३० गते अध्यक्ष पदको कार्यकाल सकिन लागेका पौडेलले एक लिखित वक्तव्यमार्फत सुनसरी क्रिकेटको विकास, चुनौती र उपलब्धिहरू स्मरण गरेका हुन्।

पौडेलका अनुसार उनको क्रिकेट यात्रा २०६४/६५ सालतिर इटहरी–१६ मा साथीहरूसँग खेल्ने क्रममा सुरु भएको थियो।

फुटबल खेल्न जाँदा  क्रिकेटतर्फ आकर्षित भएका उनी नियमित अभ्यासमार्फत स्थानीय स्तरका प्रतियोगितामा सहभागी हुन थालेका थिए।

क्रिकेटप्रतिको लगावले उनलाई २०७१ सालमा इटहरीमा आयोजित एक टि–२० प्रतियोगिताको आयोजनासम्म पुर्‍यायो। सोही क्रममा क्रिकेट प्रशिक्षक प्रदीपराज पाण्डेसँगको भेटले सुनसरी जिल्ला क्रिकेट संघसँग जोडिने अवसर मिलेको उनले उल्लेख गरेका छन्।cp2

त्यसपछि जिल्ला संघ पुनर्गठन प्रक्रियामा सहभागी हुँदै उनले संघको सदस्यका रूपमा औपचारिक जिम्मेवारी सुरु गरेका थिए।

पौडेलले आफ्नो कार्यकालमा सुनसरी क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्। उनका अनुसार जिल्लामा क्रिकेट संघको कार्यालय स्थापना, नियमित प्रतियोगिता सञ्चालन, राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना तथा क्रिकेट मैदान र इन्डोर ट्रेनिङ हल निर्माणजस्ता काम सम्पन्न भएका छन्।

पछि नेपाल क्रिकेट संघ (क्यान) को नयाँ विधानअनुसार भएको निर्वाचनमा सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका पौडेलले दुई कार्यकाल नेतृत्व सम्हाले।cp3

यस अवधिमा सुनसरी जिल्ला टिमले प्रदेशस्तरीय प्रतियोगितामा सफलता हासिल गरेको, १९ वर्षमुनि र १६ वर्षमुनि टोली प्रदेश च्याम्पियन बनेको तथा जिल्लामा पहिलोपटक राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको उनले स्मरण गरेका छन्।

उनले सुनसरीको क्रिकेट विकासमा धेरै सम्भावना भए पनि अझै जिल्लास्तरका क्रिकेट कार्यक्रमहरू विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

विशेषगरी प्रत्येक स्थानीय तहमा क्रिकेट गतिविधि सञ्चालन, विद्यालयस्तरमा क्रिकेट प्रशिक्षण कार्यक्रम र जिल्ला क्रिकेट प्रशिक्षण केन्द्र स्थापना गर्न सके नेपाली क्रिकेटको आधार अझ बलियो हुने उनको विश्वास छ।cp1

दुई कार्यकालको नेतृत्वपछि अध्यक्ष पदबाट बाहिरिन लागेका पौडेलले आफ्नो यात्रामा साथ र सहयोग गर्ने खेलाडी, प्रशिक्षक, पदाधिकारी, शुभेच्छुक तथा क्रिकेटप्रेमी सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले सुनसरी क्रिकेटलाई आगामी दिनमा अझ संगठित र व्यावसायिक रूपमा अघि बढाउन नयाँ नेतृत्व सफल हुने विश्वास समेत व्यक्त गरेका छन्।