इटहरी । कंक्रिटको विकासमा मात्र ध्यान दिएको इटहरी सरकारले यहाँको कला, साहित्य र संस्कृतिको विकासमा ध्यान नदिएको साहित्यकार तथा संस्कृतिकर्मीहरूले गुनासो गरेका छन् । 
जनप्रतिनिधिहरूले स्थानीय सरकार सञ्चालन गरेको ८ वर्ष बित्न लाग्दा पनि कला,साहित्य र संस्कृतिको संरक्षण गर्ने स्पष्ट कानुन बनाउन नसकेको उनीहरूले बताएका छन् । 

‘जीवन्त इटहरी : कला, साहित्य, संस्कृतिमा समृद्धि’ विषयक अन्तर्क्रिया कार्यक्रममा भेला भएका कवि,कलाकार,साहित्यकार तथा संस्कृतिकर्मीहरूले इटहरीलाई जीवन्त राख्न स्पष्ट नीतिको माग गरेका छन् । 

सङ्गीत साधना प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरूले स्थानीय सरकारले कला, साहित्य र सङ्गीतमा ध्यान नदिएको बताए । 
कार्यक्रममा बोल्दै मोहन तिम्सिनाले इटहरीमा नागरिक तहबाट कला, संस्कृति संरक्षणमा काम भए पनि स्थानीय सरकारले काम गर्न नसकेको बताए । 
उनले कला, साहित्य र संस्कृतिसम्बन्धी नगर स्तरीय ऐन निर्माण गर्नुपर्ने बताए । ऐन निर्माण गरी आवश्यक संस्था र संरचनाको किटान गरेर कार्यान्वयनमा जानुपर्ने उनले सुझाव दिए ।   

कवि मनुमञ्लिले ‘ग्रेटर इटहरी’ नाराको अर्थ केवल भवन र सडकले नबन्ने बताए । 
राम्रो कवि, सङ्गीतकार र सर्जक उत्पादन गर्न सक्ने क्षमता भए मात्र सहर महान् बन्ने उनको तर्क थियो । सरकारबाट अपेक्षा राखिए पनि नागरिक आफैँले पुस्तकालय निर्माणदेखि सांस्कृतिक गतिविधि सञ्चालनसम्मका काम गर्न सक्ने भन्दै उनले दार्जिलिङको अनुभव प्रस्तुत गरे । 
इटहरीका प्रदर्शनीमा स्थानीय कलाकारका चित्रकला राख्नुपर्ने, सार्वजनिक स्थान र रेस्टुरेन्टमा इटहरीकै सङ्गीत बज्नुपर्ने तथा नयाँ कलाकारलाई अवसर दिनुपर्ने धारणा राखे । 

पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्सालले इटहरीको कला, साहित्य र संस्कृतिको विकासका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ पुस्तालाई के दिन सकियो भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए। 

पालिकाले कला–साहित्य प्रतिष्ठान बनाए पनि पर्याप्त बजेट नदिँदा काम गर्न कठिन भएको उनको भनाइ थियो । पुरानो संस्था राजा क्लबलाई पुनः सक्रिय बनाउनुपर्ने र सांस्कृतिक भवनमाथिको सरकारी नियन्त्रण हटाएर सांस्कृतिक गतिविधिका लागि खुला गर्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा बोल्ने अधिकांश कवि,कलाकार तथा साहित्यकारहरूले इटहरीको समृद्धिका लागि भौतिक पूर्वाधारले मात्र नहुने, कला, साहित्य र संस्कृतिको विकासलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । 

कसले के भने ? 

हेम घिमिरे 
कला, साहित्य र संस्कृतिलाई समाजको ऐना भन्दै स्रष्टाहरूलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए। स्थानीय सरकारले गर्न नसके नागरिक आफैँ सक्रिय हुनुपर्ने र सर्जकलाई हौसला दिनुपर्छ ।

कृष्ण अधिकारी
इटहरीको मौलिक कला र संस्कृतिको खोजी पुराना बस्ती र समुदायसम्म पुगेर गर्नुपर्छ । पुस्तकालय र काव्य वाटिका जस्ता संरचनाहरू संरक्षण गर्न नसकिएकोमा उनले दुःख व्यक्त गरे । 

रमेश पोखरेल
इटहरीभित्रका कला, साहित्य र सांस्कृतिक सम्पदाको सूचीकरण, तथ्याङ्क सङ्कलन र अभिलेखीकरण गर्न आवश्यक छ ।

शिव डाँगी
सहरको विकासलाई भौतिक पूर्वाधारले मात्र नाप्ने प्रवृत्ति रहेको छ, कला, साहित्य र संस्कृतिलाई पनि विकासको सूचकका रूपमा लिनुपर्छ । साहित्य र कला विश्वविद्यालयभन्दा पनि जनताको बस्तीबाट जन्मिछ इटहरीको सांस्कृतिक विविधतालाई समेट्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । 

दिनेश कोइराला 
इटहरीलाई चलचित्रकर्मीहरूको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । चलचित्रकर्मीका लागि आवश्यक स्थानको माग लिएर जनप्रतिनिधिसम्म पुगे पनि त्यसतर्फ काम हुन सकेको छैन ।  

गायत्री लम्साल
हिजोको इटहरी नीरस भए पनि अहिले सहर बन्न थालेको छ । कला–साहित्यको विकासमा पारदर्शिता आवश्यक रहेको छ । एक करोड रुपैयाँ मात्र प्रभावकारी रूपमा खर्च गर्न सकिए पनि धेरै काम गर्न सकिने र सक्षम व्यक्तिलाई जिम्मेवारी दिएर मास्टर प्लानका आधारमा अघि बढ्नुपर्छ । 

बालकृष्ण सिग्देल 
थिएटर निर्माणको कुरा धेरै उठ्ने भए पनि त्यसलाई कसले र कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । सङ्गीत साधना प्रतिष्ठानको संरचना सुदृढ बनाएपछि पुस्तकालयदेखि अन्य कामहरू चरणबद्ध रूपमा गर्न सकिने र उच्च तहसम्म अध्ययन–अध्यापनको वातावरण बनाउनुपर्छ । 

राजु केसी 
सङ्गीत साधना प्रतिष्ठान स्थापना गर्न सुरुका दिनमा पर्याप्त पहुँच नभए पनि निरन्तर प्रयास जारी राखिएको बताए। संस्कृति संरक्षणमा लगानी आवश्यक रहेको र प्रत्येक व्यक्तिले आफूले के गर्न सक्छु भनेर सोच्नुपर्ने उनको भनाइ थियो। नीति बने पनि कार्यान्वयन कमजोर रहेको भन्दै सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ । 

तेजनारायण चौधरी
तथ्यमा आधारित भएर कला र संस्कृतिको अभिलेखीकरण तथा संरक्षण गर्नुपर्छ । एक–अर्कालाई निषेध गर्ने प्रवृत्ति अन्त्य गरी सहकार्यमा अघि बढ्नुपर्छ । इटहरीलाई तोरी बारी होइन, फूलबारीजस्तो बनाउनुपर्छ । 

सरोज श्रेष्ठ
हिपहप, ब्रेक डान्स र ¥यापमा संलग्न युवाहरूलाई पनि सांस्कृतिक अभियानमा समेट्नुपर्छ । युवाहरूका कार्यक्रमहरूमा अग्रज पुस्ताको सहभागिता कम हुने गरेको छ । हिपहप पार्क निर्माण गरेर युवा प्रतिभालाई स्थान दिनुपर्छ ।