सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जीव ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् ।
इनरुवामा शनिवार सम्पन्न संघको चौथो वार्षिक साधारणसभाले ढुङ्गानाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अफजल हुसेन, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा अब्दुल्ला खान सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा सिपी पौडेल, विकास निरौला, ताहिर हुसेन, जयव्रत सरकार, रतन रौनियार, आनन्द अग्रवाल, नुनुदास गुप्ता, सुनोज निरौला, शिव यादव र सरोज बस्नेत रहेका छन् ।
निवर्तमान अध्यक्ष सिपी पौडेलका अनुसार नवनिर्वाचित अध्यक्ष ढुंगाना यसअघि संघको उपाध्यक्ष थिए भने पौडेल स्वयं सचिव पदमा पुनः दोहोरिएका हुन् । त्यस्तै अफजल हुसेन यसअघिको कार्यसमिति सदस्यबाट उपाध्यक्षमा उक्लिएका छन् ।
साधारण सभामा बोल्दै कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोष, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य अर्जुन पौडेल तथा कोसी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले पछिल्लो समय सुनसरीले राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका थिए ।
साधारण सभाको अवसरमा पत्रकारिता मार्फत सुनसरी तथा कोसी प्रदेशको क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै कान्तिपुरका सुनसरी संवाददाता अर्जुन सुबेदीलाई सम्मान गरिएको थियो ।
यस्तै क्रिकेट प्रशिक्षक प्रदिपराज पाण्डे, राजकुमार प्रधान, फोटो पत्रकार गुरु ढकाललाई पनि सम्मान गरिएको संघले जनाएको छ ।
यस्तै उमेर समुहका खेलाडीहरु अन्डर १६ का कविराज खत्री र रबीन मण्डल, अन्डर १९का रोहन शाह, समीर कार्की, सिनियर खेलाडीहरु प्रकाश कार्की र सुमन गहतराज पनि सम्मानित भएका छन् ।