सुनसरी । नेकपा एमालेका पूर्वनेता नेता रामप्रसाद चौलागाईँ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेसँग तिव्र असन्तुष्टि व्यक्त गर्दै आएका चौलागाईँले दुई महिनाअघि एमाले परित्याग गरेको घोषणा गरेका थिए । 

एमाले छाडेका चौलागाईँले आज(बुधबार) औपचारिक रुपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)सँगको फोटो फेसबुकमा शेयर गर्दै उनले पार्टी प्रवेशको जानकारी दिएका छन् ।

  उनले लेखेका छन्, आज श्रम संस्कृति पार्टीका आदरणिय अध्यक्ष माननिय हर्कराज राई (हर्क साम्पांग) संग आत्मीय भेटघाट भयो। वहाकै हातबाट पार्टी सदस्यता, टि–सर्ट र ब्याच समेत गह्रण गरी श्रमदाता बनियो। वहाँको देश निर्माणको अभियानमा जोडिन पाएकोमा गौरवान्वित छु । यो पुनित र गौरवपूर्ण अभियानमा अविलम्व जोडिनुहुन सवैमा हार्दिक अनुरोध छ । 

चौलागाईँ एमाले इटहरीका पुराना नेता हुन । इटहरी खानेपानी संस्थामा ३ कार्यकाल करिब १९ बर्ष अध्यक्षको रुपमा काम गरेका चौलागाईँ इटहरी उपमहानगरपालिकाका मेयरका दावेदार थिए ।

२०७४ र २०७९ मा मेयरको प्रमुख दावेदार मानिएका चौलागाईँलाई एमालेले टिकट दिएन । टिकट नपाएपछि तिव्र असन्तुष्ट हुँदै आएका उनले एमाले परित्याग गरेको घोषणा गरेका थिए । 

इटहरी उपमहानगरपालिकाको मेयरको दावेदारी दिँदै आएका चौलागाईँ मेयरकै आकाक्षा सहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन । 

पार्टी प्रवेशका क्रममा अध्यक्ष हर्क साम्पाङसँग राम्रो कुराकानी भएको उनले बताए । भेटका क्रममा आफ्नो बारेमा धेरै सुनेको बताएका हर्क साम्पाङले पार्टीमा आवश्यक जिम्मेवारी दिने भनेको चौलागाईँले जानकारी दिए । पार्टीले दिएको जिम्मेवारी आफुले पुरा गर्ने उनले बताए ।