विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३। ८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको  बजेट सार्वजनिक गरेको छ । 

महानगरको १८ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले  महानगरले कूल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आय व्ययको अनुमान गरेकी छन् । 


आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आम्दानीमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।


 यस्तै प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगत तर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ।


 यसै गरी आन्तरिक आय तर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँड ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैक  मौज्दातबाट १४ करोड र विभिन्न सङ्घसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ । महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।  महानगरले पूर्वाधार विकासमा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ । 


यस्तै  नगर स्तरीय योजनाका लागि ६० करोड, वडा स्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार, र बहु वर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुटाइएको छ । यस्तै, मर्मत सम्भारमा १० करोड र फोहोर पानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसै गरी  सामाजिक विकास तर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ , शिक्षा तर्फ  १० करोड ९ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै  स्वास्थ्य तर्फ  ७ करोड ३ लाख ९० हजार रुपैयाँ  विनियोजन गरेको छ ।