सुनसरी । प्रथम यू–१५ च्याम्पियनसिप खुला फुटबल प्रतियोगिताको उपाधि नेपाल डिभिएम ग्लोबल स्कुल इटहरीले जितेको छ ।
महेन्द्र मोरङ क्याम्पस खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा डिभिएमले गोदावरी स्कुल बिराटनगरलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै डिभिएमले नगद २५ हजार रुपैयाँ हात पार्यो भने उपविजेता गोदावरीले १५ हजार रुपैयाँमा चित्त बुझायो ।
पहिलो सेमिफाइनलमा गोदावरी बोर्डिङ स्कुलले मारिक एफसीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यस्तै दोस्रो सेमिफाइनलमा डिभिएमले मोडर्नएरा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
जनपथ फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा असार ६ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरीका १६ टोलीको सहभागिता रहेको थियो ।
बाल तथा किशोर उमेर समूहका खेलाडीको प्रतिभा विकास, प्रतिस्पर्धात्मक वातावरण सिर्जना र फुटबलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । पछिल्लो समय विद्यालयस्तरीय क्रिकेटमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको डिभिएम ग्लोबल स्कुलले फुटबलमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाएको छ ।
यसअघि क्रिकेटमा सुनसरी जिल्ला च्याम्पियन बनेको डिभिएमले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त क्रियाकलाप, विशेषगरी खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको विद्यालयका प्रिन्सिपल बेणुप्रसाद सिटौलाले बताए ।

















