सुनसरी – केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा इटहरी सुपर किंग्सले विजयी सुरुआत गरेको छ।
शनिबार भएको खेलमा भारतको आरएमएल स्पोर्ट्स एकेडेमीलाई ७ विकेटले पराजित गर्दै इटहरीले प्रतियोगितामा बलियो सुरुआत गरेको हो।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित डा. खलिल आजाद क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आरएमएल स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। टोलीका लागि मन्जुल डुडेले २८ रन बनाउँदा अबान जाफ्रीले २४ रन जोडे।
अनुभव सिंहले १८ तथा सन्दीप गुप्ताले १५ रन बनाएपछि आरएमएलले सामान्य योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको इटहरी सुपर किंग्सले ९.२ ओभरमै ३ विकेट गुमाएर ११६ रन बनाउँदै सहज जित निकालेको हो।
इटहरीको जितमा अर्जुन घर्ती मगरले विस्फोटक ब्याटिङ गर्दै अविजित ५२ रन बनाए। उनले १७ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए।
आकाश सर्राफले २२ बलमा ३० रन जोड्दा सुजन थपलियाले ११ बलमा १७ रनको योगदान दिए। अन्तिमतिर सुमित श्रेष्ठ ५ बलमा १० रनमा अविजित रहे। इटहरीले अतिरिक्तबाट ६ रन प्राप्त गरेको थियो।
छोटो लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ प्रदर्शन गरेको इटहरी सुपर किंग्सले प्रतियोगितामा आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
केपीएल ग्रुपको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी ६ टोलीको सहभागिता रहेको छ।
नेपालबाट इटहरी सुपर किंग्स, मिल्स क्रिकेट एकेडेमी विराटनगर र छिन्नमस्ता क्रिकेट क्लब सप्तरी सहभागी छन् भने भारतबाट आरएमएल स्पोर्ट्स एकेडेमी नयाँ दिल्ली, एचपीसीए स्पोर्ट्स क्लब पटना र केसीसी क्रिकेट क्लब वीरपुरले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको फाइनल असार २३ गते हुने आयोजक केपीएल ग्रुपका अध्यक्ष अफजल हुसेनले जानकारी दिए।
प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ।

















