सुनसरी – कोशी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही, तीव्र गति र ट्राफिक नियम उल्लङ्घन रहेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म प्रदेशभर ६ हजार १ सय ५० वटा सवारी दुर्घटना हुँदा ४ सय २१ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा ७ सय ३५ जना गम्भीर घाइते भएका छन् भने ९ हजार ५ सय २९ जना सामान्य घाइते भएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनाको सबैभन्दा ठूलो कारण तीव्र गति बनेको छ। तीव्र गतिका कारण मात्रै २ हजार ६ सय ६७ दुर्घटना भएका छन् भने चालकको लापरवाहीका कारण १ हजार ७ सय १५ दुर्घटना भएका छन्। त्यस्तै यात्रुको गल्तीका कारण ५ सय ४६, मादक पदार्थ सेवन (मापसे) का कारण ४ सय २५ र सवारी साधनको यान्त्रिक गडबडीका कारण २ सय ६६ दुर्घटना भएका छन्।

यसबाहेक सडकको खराब अवस्थाका कारण २ सय ८१, ओभरटेक गर्दा १ सय ४९, चौपायाका कारण ४९, ओभरलोडका कारण १७ र प्रतिकूल मौसमका कारण ३५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ। समग्र तथ्यांकले दुर्घटनाको प्रमुख जिम्मेवार मानवीय त्रुटि नै रहेको पुष्टि गरेको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार चालकको असावधानी, गति नियन्त्रणमा बेवास्ता र ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाका मुख्य कारण हुन्। उनका अनुसार दुर्घटनाको जोखिम बढ्दो सवारी चाप र सडक अनुशासनको अभावसँग प्रत्यक्ष जोडिएको छ।

प्रदेशका मोरङ, सुनसरी र झापा दुर्घटनाको केन्द्रका रूपमा देखिएका छन्। तथ्यांकअनुसार मोरङमा सबैभन्दा बढी २ हजार १ सय ४३, झापामा १ हजार ४ सय ५३ र सुनसरीमा १ हजार ३ सय ९८ दुर्घटना भएका छन्। यी तीन जिल्लामा मात्रै प्रदेशका करिब ८० प्रतिशत दुर्घटना केन्द्रित छन्। मानवीय क्षतिको हिसाबले सुनसरीमा सबैभन्दा बढी १ सय १४, मोरङमा १ सय ११ र झापामा ७३ जनाको मृत्यु भएको छ।

प्रहरी उपरीक्षक गिरीका अनुसार पूर्व–पश्चिम राजमार्ग, कोशी लोकमार्ग र सहरी सडक क्षेत्रमा तीव्र सहरीकरण, बढ्दो सवारी चाप, उच्च गति र कमजोर सडक अनुशासनले दुर्घटनाको जोखिम झन् बढाएको छ। विशेषगरी बढी सवारी चाप हुने जिल्लामा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन र नियमको कडाइ अपरिहार्य भएको उनको भनाइ छ।

तथ्यांकले सडक विस्तार र सवारी संख्या बढेसँगै चालकको व्यवहार सुधार, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, नियमित सवारी परीक्षण तथा सडक सुरक्षा पूर्वाधार सुदृढीकरण नगरे दुर्घटनाको दर अझै बढ्न सक्ने संकेत गरेको छ।

ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रणमा राख्न, मापसे गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्न आग्रह गरेको छ। साथै दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सामूहिक जिम्मेवारी आवश्यक रहेको प्रहरीले जनाएको छ।