सुनसरी । लोड गरिएको पेस्तोल सहित २ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका–१ मधेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र पेस्तोलमा लोड गरिएको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः२० बजेतिर अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
उनीसँगै रहेका विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















