सुनसरी । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले सिङ्गो पार्टीलाई गतिशील र एकताबद्ध बनाएर अघि बढाउन गगन थापाको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

पराजुली कृष्ण प्रसाद सिटौलानिकट मानिन्थे । विराटनगर महानगरपालिकाका मेयरसमेत भइसकेका उनी यसअघि कांग्रेस–एमालेको गठबन्धन सरकारमा मन्त्री थिए ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीका अग्रज नेताहरूलाई अभिभावकीय भूमिकामा बस्न र आम कार्यकर्तालाई एकतामा जोडिन अपिल गरेका छन् ।

देशको वर्तमान कमजोर अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्रको जग बलियो बनाउन तथा जनचाहना अनुसार कांग्रेस अघि बढ्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको पराजुलीको ठहर छ।

उनले लेखेका छन्, ‘चारतारे झण्डा र रूख जहाँ हुन्छ, त्यो मेरो र हाम्रो स्वाभिमानसङ्ग जोडिएको छ । हामी लोकतन्त्रवादीको रगत र पसिना यसैमा समर्पित भएर बगेको छ। देश कमजोर रहेको अवस्थालाई मध्यनजर गर्दै हामीले लोकतन्त्र, प्रजातन्त्रको जगलाई बलियो बनाउन र जनचाहना अनुरूप अगाडि बढ्नुपर्नेछ, जो आजको आवश्यकता पनि हो ।’

पार्टी रूपान्तरण र समयानुकूल नेतृत्वको आवश्यकता औँल्याउँदै नेता उनी भन्छन्, ‘सिङ्गो नेपाली कांग्रेसलाई अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वमा समर्पित बनेर अगाडि बढ्नुको विकल्प छैन ।’

bhim parajuli