सुनसरी । छोराको क्यूआरमा घुस रकम हाल्न लगाउने सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तालिमको प्रशिक्षकसँग काम मिलाइदिएबापत ४५ हजार रूपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०।०८१ मा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ बुनाइ तालिम सम्पन्न भएपश्चात उपाध्यक्ष राईले प्रशिक्षकको रूपमा काम दिलाएबापत उक्त रकम माग गरेकी थिइन् । उपाध्यक्ष राईले सो रकम आफ्ना छोरा सुनील नाछिरिङ राईको बैंक खाताको क्यूआर कोडमा हाल्न लगाएको अख्तियारको उजुरीमा उल्लेख छ ।
अनुसन्धानका क्रममा उपाध्यक्ष राईले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै मिलेमतोमा रकम लिन लगाएको र छोरा सुनीलले आमासँग मिलेर सेवाग्राहीबाट रकम आफ्नो खातामा लिई प्रयोग तथा प्रचलनमा ल्याएको पुष्टि भएको अख्तियारले जनाएको छ ।आमासँगै घुस लिने कार्यमा सहयोगी बनेका छोरालाई पनि जनही ४५ हजार बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ ।











