विराटनगर । झापाको बिर्तामोडमा जेन्जी आन्दोलनका घाइतेले आमरण अनसन सुरु गरेका छन् । अर्जुनधारा – ६ का विवेक दनुवारले सरकारसँग विभिन्न माग राख्दै बिर्तामोडमा आजबाट आमरण अनसन सुरु गरेका हुन् । दनुवारको जेनजी आन्दोलनका क्रममा पेटमा गोली लागि गम्भीर घाइते भएका थिए । उनको आमरण अनसनलाई सहयोग गर्न आन्दोलनका क्रममा घाइते भएका अरू घाइते पनि सहभागी भएका छन् ।
दनुवारले घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नु पर्ने माग राखेका छन् । यस्तै उनले घाइतेहरूको लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गर्नुपर्ने माग समेत अघि सारेका छन् ।
आमरण अनसनमा घाइते वा घाइतेका परिवार र सहिद परिवारको लागि निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूको लागि विशेष छुटको व्यवस्थापन गर्नुपर्ने, घाइते तथा सहिद परिवारको सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग राखिएको छ ।
घाइते जेनजीहरुले मङ्गलवार साँझ पनि सरकारको कडा आलोचना गर्दै खबरदारी गरेका थिए । जेनजी आन्दोलन रास्वपालाई बहुमतको सरकार बनाउन गरे जस्तो मात्रै भएको उनीहरूको टिप्पणी थियो । झापामा १ सय जनाभन्दा धेरै जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए । त्यसमध्ये ४३ जनाले मात्र परिचय पत्र पाएका छन् ।











