सुनसरी । सेउती खोलाबाट रातको समयमा ढुंगा, गिट्टी र बालुवा दोहन गरी निकालिने गरिएको छ ।
खोलाबाट निकालिएको भनिएको त्यही नदीजन्य पदार्थ भने इटहरी उपमहानगरपालिका–१९ र रामधुनी नगरपालिका–७ का विभिन्न स्थानमा खुलेआम थुपारिएको छ ।
कतिपय स्थानमा ठूलठूला ढुंगाका थुप्रा छन्, कतै गिट्टी र बालुवाको भण्डारण छ ।

तर ती सामग्री कसले थुपारेको हो, कसको जग्गामा राखिएको हो र कहाँबाट ल्याइएको हो भन्नेबारे नियमन गर्ने निकायले अहिलेसम्म खोजी गरेको छैन ।
खोलामा राति ट्याक्टर चलिरहेको गुनासो आएपछि अनुगमन गर्ने निकाय सक्रिय भएका छन् ।
तर खोलाबाट निकालिएको नदीजन्य पदार्थ पुग्ने भण्डारणस्थलसम्म पुगेर त्यसको स्रोत र मालिक खोज्ने काम भने भएको छैन ।

यसले सेउती दोहन नियन्त्रणको प्रयास खोलासम्म मात्र सीमित भएको देखाउँछ ।
खोला दोहनमा स्थानीय प्रहरी कार्यलय र बन कार्यलयका कर्मचारीको मिलेमतो रहेको र प्रति ट्याक्टरको हिसाबले रकम असुल्ने गरेको स्थानीयले आरोप लगाएका छन ।











